सोमबार, ७ बैशाख २०८३
काठमाडौँ। नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री सुशीला कार्कीले आफूलाई “जसरी पनि पक्राउ गर्न” दबाब दिँदै सम्पत्ति शुद्धीकरण विभाग (DMLI) को नेतृत्व नै फेरबदल गरेको आरोप लगाएका छन्। पार्टीको एघारौँ महाधिवेशन प्रचारका लागि तयार पारिएको ‘नवयुग ई–बुलेटिन’ को शनिवार बालकुमारीस्थित पार्टी कार्यालयमा शुभारम्भ गर्दै ओलीले प्रधानमन्त्रीको नियतमाथि प्रश्न उठाएका हुन्।
ओलीका अनुसार प्रधानमन्त्री कार्कीले विभागका तत्कालीन प्रमुखलाई तीन पटक बोलाई आफूविरुद्ध मुद्दा चलाउन, प्रमाण जुटाउन र गिरफ्तार गर्न निर्देशन दिएको दाबी गरे। “उहाँले झूटो काम गर्न नसक्ने, कानुनले नदिएको काम गर्न नमिल्ने भनेर प्रतिवाद गरेपछि प्रधानमन्त्रीले उनलाई तुरुन्तै हटाएर अर्को व्यक्ति नियुक्त गरिन्,” ओलीले भने, “प्रधानमन्त्रीबाट यस्तो व्यवहार हुनु देशको लागि दु:खद स्थिति हो।”
उनले जनमतविना बनेको सरकारले राजदूत फिर्ता गर्नेदेखि अध्यादेश ल्याउनेजस्ता संवैधानिक तथा कूटनीतिक संवेदनशील निर्णय हतार–हतार गर्न खोजिरहेको आरोप पनि लगाए। साथै, ओलीले २१ फागुनमा चुनाव गराउन वर्तमान सरकार असमर्थ हुने दाबी गर्दै एमाले भने चुनावको पर्खाइमा रहेको बताए। “हामी शान्तिपूर्ण र धाँधलीरहित वातावरणमा हुने चुनावका लागि तयार छौँ,” उनले भने, “अबको चुनावबाट आउने सरकार एमालेकै हुनेछ।”