आईतबार, ६ बैशाख २०८३
काठमाडौं । नेपालको अन्तरिम सरकारको नेतृत्वका लागि जेनजी युवाबाट प्रस्तावित पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले राष्ट्रिय हितका लागि काम गर्न आफु तयार रहेको बताएकी छन् । भारतीय टेलिभिजन च्यानल न्यूज १८ लाई प्रतिक्रिया दिँदै कार्कीले सो धारणा राखेकी हुन् । उनले भनेकी छन्, ‘जेन–जी समूहले मलाई छोटो अवधिका लागि सरकारको नेतृत्व गर्न विश्वास गर्यो, म राष्ट्रिय हितका लागि काम गर्न तयार छु ।’ नेपाली युवाहरुले आफूलाई गरेको विश्वासप्रति विनम्रता महसुस गरेको उनले बताइन् ।
सन् १९७५ मा भारतको वाराणसी हिन्दु विश्वविद्यालयबाट राजनीति शास्त्रमा स्नातकोत्तर गरेकी कार्कीले भारतीयहरुसँग आफ्नो आत्मीय सम्बन्ध रहेको बताएकी छन् । भ्रष्टाचार र सामाजिक सञ्जाल प्रतिबन्धविरुद्ध युवाहरुले गरेको प्रदर्शनमा सरकारले दमन गर्दा १९ जनाको ज्यान गएपछि पूर्व प्रधानन्यायाधीश सुशीला कार्की समेत सडकमा उत्रिएकी थिइन् । उनले न्यूज १८ सँगको एक प्रश्नमा आफूले काम गर्ने सवालमा सामूहिकतामा विश्वास गर्ने बताएकी छन् । आफूले सर्वोच्च अदालतमा काम गर्ने बेलामा समेत सामूहिक रुपमा काम गरेको स्मरण गरेकी छन् ।