सोमबार, ७ बैशाख २०८३
काठमाडौँ । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का संयोजक डा. बाबुराम भट्टराई, प्रगतिशील राष्ट्रिय अभियानका नेता जनार्दन शर्मा र सन्तोष परियार नेतृत्वको समूहसहितका विभिन्न घटकले आज औपचारिक रूपमा पार्टी एकता घोषणा गर्दैछन्। प्रगतिशील लोकतान्त्रिक पार्टी नामबाट नयाँ संरचना निर्माण गर्ने तयारी चलिरहेको र त्यसका लागि ‘अध्यक्ष परिषद्’ गठन गरिने छ। उक्त परिषद् समावेशी सिद्धान्तअनुसार दलित, महिला, आदिवासी जनजाति, मधेशी, पिछडिएको क्षेत्रलगायत सबै क्लस्टरबाट प्रतिनिधित्व हुने गरी ६–७ सदस्यीय रहनेछ। यही परिषद्ले पार्टीको कार्यकारी भूमिका निर्वाह गर्नेछ।
प्रगतिशील अभियानमा पुगेका सन्तोष परियारका अनुसार परिषद्मा रहने तीन जनाको नाम टुंगो भइसकेको छ र यसको औपचारिक घोषणा एकता सभामार्फत हुने छ। नेसपा (नयाँ शक्ति)का प्रचार विभाग प्रमुख रेखी गुरुङका अनुसार राष्ट्रिय सभागृह काठमाडौँमा आयोजना हुने वृहत् एकता घोषणासभाका सबै तयारी पूरा भएका छन्। आजको कार्यक्रममा तीन प्रमुख घटकसँगै अन्य केही समूह पनि एकतामा समेटिने बताइएको छ। यसअघि कात्तिक २८ मा नेसपा, प्रगतिशील राष्ट्रिय अभियान र परियार समूहबीच एकता सहमतिमा हस्ताक्षर भएको थियो।
नयाँ शक्तिले विवेकशील साझा, नागरिक उन्मुक्ति पार्टी नेपाल, जेनजीका विभिन्न समूहलगायत वैकल्पिक राजनीतिक शक्तिसँग एकता वा सहकार्यका लागि पनि छलफल चलाइरहेको जनाएको छ। एकतापछि नयाँ पार्टीको नाम प्रगतिशील लोकतान्त्रिक पार्टी नै राख्न सहमति नेताहरु सहमत भएका छन् । केन्द्रीय समिति १५१ भन्दा बढी सदस्यीय नबनाउने पनि सहमति भएको छ । भट्टराई र शर्मा पार्टीको कार्यकारी भूमिकामा रहने छैनन् । उनीहरु संरक्षकको रुपमा रहने छन् ।