सोमबार, ७ ब‌ैशाख २०८३

images

सोमबार, ७ ब‌ैशाख २०८३

सोमबार, ७ ब‌ैशाख २०८३

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×
images

महाधिवेशन प्रतिनिधिको काँधमा कांग्रेसको भविष्य

कांग्रेसका ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले आह्वान गरेको विशेष महाधिवेशन आइतबार अपराह्न काठमाडौंको भृकुटीमण्डपमा सुरु हुँदै छ । सोमबार बिहानसम्म सुरु हुने बन्दसत्रमा बहुमत महाधिवेशन प्रतिनिधि सहभागी भए नयाँ नेतृत्व नै चयन गर्ने, नभए महाधिवेशनलाई भेलामा परिणत गरेर संकल्प प्रस्ताव पारित गर्ने तयारी छ । आठ दशकको कांग्रेस जीवनमा विशेष महाधिवेशन हुन लागेको यो दोस्रोपटक हो । यसअघि ०१४ मा विराटनगरमा विशेष महाधिवेशन गरी बिपी कोइराला सभापति निर्वाचित भएका थिए । 

महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको आह्वानमा भएको विशेष महाधिवेशनमा शनिबार रातिसम्मको घटनाक्रम हेर्दा सभापति शेरबहादुर देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्का दुवै सहभागी नहुने भएका छन् । देउवाको सचिवालयले त विशेष महाधिवेशनमा सहभागिताका लागि पठाएको निमन्त्रणा बुझ्नसमेत अस्वीकार गरेको छ । उल्टै देउवाका सहयोगीले दुर्व्यवहार गर्दै घरबाहिर निकालेको निम्तोपत्र बोकेर देउवानिवास महाराजगन्ज पुगेका नेता रामपल्टन साहको आरोप छ । 

राति अबेरसम्मको तयारीअनुसार महाधिवेशनको अध्यक्षता काठमाडौं जिल्ला सभापति सबुजकृष्ण बानियाँले गर्नेछन् । त्यस्तै, महामन्त्री थापा प्रमुख अतिथिको भूमिकामा रहनेछन् । ‘सभापति नआएको अवस्थामा विशेष महाधिवेशनको उद्घाटन महामन्त्रीबाट हुनेछ,’ विशेष महाधिवेशन प्रचारप्रचार समितिका संयोजक नेता सुवास पोखरेलले भने, ‘महामन्त्री, सहमहामन्त्री तथा उल्लेख्य संख्यामा पार्टी केन्द्रीय सदस्यहरू विशेष महाधिवेशनमा सहभागी हुनुहुनेछ ।’ 

देशैभरिबाट महामन्त्रीद्वय थापा र शर्मानिकट नेता तथा महाधिवेशन प्रतिनिधि काठमाडौं आइपुगेका छन् । भृकुटीमण्डपमा कम्तीमा पनि ६ हजार व्यक्ति अट्ने व्यवस्था मिलाइएको आयोजकले जनाएको छ । पार्टीको आन्तरिक कार्यक्रम भएका कारण अन्य दल तथा विदेशी कूटनीतिक नियोगहरूलाई निमन्त्रणा नगरिएको केन्द्रीय सदस्य अजय शिवाकोटीले बताए । महामन्त्री थापानिकट नेताहरूका अनुसार विशेष महाधिवेशनमा ५० प्रतिशत महाधिवेशन प्रतिनिधि सहभागी नभए नेतृत्व परिवर्तनको एजेन्डा हुनेछैन । ‘तर, त्यस्तो अवस्था हुँदैन भन्नेमा विश्वस्त छौँ । कथंकदाचित बहुमत संख्या पुगेन भने विशेष महाधिवेशनलाई विशेष भेलामा रूपान्तरण गर्छौँ, एउटा शक्तिका रूपमा यो स्थापित भइहाल्छ भन्ने हाम्रो बुझाइ छ,’ थापानिकट एक नेताले भने । 

उद्घाटनपछि समय पुगे आइतबारै साँझ वा सोमबार बिहान बन्दसत्र सुरु गर्ने तयारी छ । बन्दसत्रमा विभिन्न विषयमा प्रतिवेदन पेस हुनेछ । बन्दसत्र सुरु भएलगत्तै कार्यविधि प्रस्तुत हुने र त्यसपछि नेतृत्व चयनलगायत अन्य कार्यसूचीमा प्रवेश हुनेछ । प्रचारप्रसार समिति संयोजक पोखरेलले अहिलेसम्म ६० प्रतिशत महाधिवेशन प्रतिनिधिले सहभागिता जनाउने वचन दिएका छन् । ‘कम्तीमा ६० प्रतिशत महाधिवेशन प्रतिनिधि सहभागी हुनुहुनेछ । काठमाडौंबाहिरबाट अधिकांश प्रतिनिधि आइसक्नुभएको छ, बाँकी साथीहरू आइतबार बिहानसम्म आइपुग्नुहुनेछ,’ उनले भने । 

पोखरेलका अनुसार बहुमत प्रतिनिधि सहभागी भएपछि नेतृत्व परिवर्तनको एजेन्डा प्रवेश हुनेछ । ‘हामीले पार्टी फुटाउने प्रश्न आउँदैन । बहुमत महाधिवेशन प्रतिनिधिहरू भएको हलले पार्टीका बारेमा निर्णय लिन्छ, पार्टी फुटाउनेहरू त अल्पमतमा भइहाल्छन् नि ! बहुमत सदस्यले पार्टी फुटाउने होइन, पार्टीको भावी नेतृत्व, नीति र कार्यदिशाका बारेमा निर्णय लिन्छ,’ उनले भने । विशेष महाधिवेशनका लागि बिहान कुपन्डोल, सुन्धारा, रत्नपार्क, शंकरदेव क्याम्पस, कमलपोखरीलगायतबाट जुलुस भृकुटीमपण्डपमा पुग्नेछ ।

कांग्रेसका २४ सय ८८ महाधिवेशन प्रतिनिधिले पुसभित्रै नियमित महाधिवेशन वा पार्टी विधानको धारा १७ (२) अनुसार विशेष महाधिवेशन माग गर्दै हस्ताक्षरसहितको निवेदन पार्टी कार्यालयमा बुझाएका थिए । विधानअनुसार तीन महिनाभित्र विशेष महाधिवेशन गर्नुपर्ने मिति २८ पुसमा सकिनुअघि उनीहरूले महाधिवेशन आह्वान गरेका हुन् । केन्द्रीय समिति र केन्द्रीय कार्यसम्पादन समितिले विशेष महाधिवेशनको औचित्य सकिएको भन्दै वैशाख अन्तिम साता नियमित महाधिवेशनको कार्यतालिका पारित गरेको छ । तर, परिवर्तित परिस्थितिमा चुनावअघि नियमित महाधिवेशन हुन नसकेपछि विशेष महाधिवेशनबाट नीति र नेतृत्व परिवर्तन गर्नुपर्ने भन्दै महामन्त्रीद्वय थापा र शर्मासमेत संलग्न भएर विशेष महाधिवेशनको मिति तय गरेका हुन् । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ।