सोमबार, ७ बैशाख २०८३
बल्खु क्षेत्रमा करिब दुई महिनादेखि कुर्दा पनि ग्यास नपाएपछि हरि ब्लोलले सोमबार टेकुस्थित आयल निगमको अस्थायी ग्यास वितरण डिपोमा बल्ल भरिएको सिलिन्डर किन्न पाए । सोमबार दिउँसो तीन बजे टेकुस्थित निगमले ग्यास वितरण डिपोमा एक थान ‘नेपाल ग्यास’ लिएर आफन्त कुरिरहेको अवस्थामा भेटिएका उनले भने, ‘काँधमा बोकेर लैजान गाह्रो हुने भएकाले आफन्तलाई मोटरसाइकलमा बोलाएको छु । बल्खुको डिलरमा नाम लेखाएर १५–२० दिन कुर्दा पनि ग्यास पाइएन, अनि यहाँ आएर बल्ल पाएँ ।’
सोही समयमा मैतीदेवी बस्दै आएका पुष्प अर्याल पनि एकजना साथीसँग स्कुटरमा आएर दुवैजनाले एक–एक थान ग्यास खरिद गरे । एक थान सिलिन्डरका लागि मैतीदेवीदेखि टेकुसम्म धाउनुपरेकोमा उनीहरूको गुनासो छ । ‘सधैँ ग्यास किनिरहने डिलरले फोन नै उठाउन छाडे । एक थान ग्यास लिन पनि धाउनुपर्ने स्थिति छ,’ उनले भने । कुलेश्वरका मोहन भुसाल पनि एक थान ग्यास लिन मोटरसाइकलको पछाडि सिलिन्डर बाँधेर टेकु पुगेका थिए । काउन्टरमा १९ सय १० रुपैयाँ तिरेर उनले भरिएको ग्यास सिलिन्डर पुन: मोटरसाइकलको पछाडि बाँधेर निस्किए । घरमा एभरेस्ट ग्यासको सिलिन्डर पनि पहिले नै खाली भइसकेको उनले बताए । ‘एभरेस्ट ग्यासको सिलिन्डर पनि खाली भइसक्यो । अहिले भर्खर यो पनि रित्तिएकाले चुलोबाट थुतेर ल्याएको हो,’ उनले भने ।
आयल निगमले २८ माघदेखि टेकुस्थित पुरानो कार्यालयमा अस्थायी डिपो राखेर नेपाल, एभरेस्ट र सुगम ग्यास बिक्री थालेकाले अप्ठ्यारोमा परेका उपभोक्ताहरू त्यहाँ पुग्ने गरेका छन् । आपूर्ति सहजताका लागि अस्थायी डिपो खोलेको निगमले मागअनुसार आपूर्ति परिमाण बढाउने र आयातीत ग्यास वितरणको अनुगमन भने गरेको छैन । त्यसैले दुई महिना भइसक्दा पनि बजारमा ग्यास आपूर्ति असहज छ । पछिल्लो समय मध्यपूर्व तनावले पेट्रोलियम पदार्थको आपूर्तिमा अवरोध भएको समाचार बाहिरिएपछि टेकु पुगेर ग्यास खरिद गर्ने उपभोक्ताको संख्या झन् बढेको छ ।
निगमले भने सामान्य अवस्थाको भन्दा बढी ग्यास आयात गरेको दाबी गर्दै आपूर्ति सहजताका लागि थप पहल गरेको छैन । निगमको एलपिजी तथा एभिएसन विभाग प्रमुख रहेका निर्देशक विनीतमणि उपाध्यायले फेब्रुअरीमा ५० हजार तीन सय टन भित्रिएको र मार्चका लागि ५२ हजार टन आयातको बन्दोबस्ती गरेको बताए । ‘सामान्य अवस्थामा ४५ हजारदेखि ४८ हजार टन ग्यास आयात हुने गरेको छ । अहिले आयात परिमाण पनि बढाइएको छ,’ उनले भने ।
बजारमा आपूर्ति सहज नभएर ग्यासको खोजी गर्ने उपभोक्ताको गुनासो यथावत् रहेको उनले बताए । ‘ग्यासको आपूर्ति अझै सुलभ नभएको विषयमा हाम्रो जानकारी पनि छ । आयात बढाएर सहज गर्न लागिरहेका छौँ,’ उनले भने, ‘मध्यपूर्वमा भएको तनावले पनि उपभोक्ता अतालिएर सञ्चय गर्ने प्रवृत्ति बढेको छ । सञ्चय नगर्न हामीले बारम्बार आग्रह गरिरहेका छौँ ।’टेकुस्थित अस्थायी डिपोबाट हालसम्म नेपाल ग्यासका दुई हजार नौ सय ३२ र एभरेस्ट तथा सगुमका दुई हजार ६ सय ९० थान सिलिन्डर बिक्री भएको निगमले जनाएको छ । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ।