सोमबार, ७ ब‌ैशाख २०८३

images

सोमबार, ७ ब‌ैशाख २०८३

सोमबार, ७ ब‌ैशाख २०८३

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×
images

सबै दल होमिए चुनावमा : आज समानुपातिक बन्दसूची बुझाउँदै

निर्वाचन आयोगको कार्यतालिकाअनुसार सोमबार प्रमुख दलहरूले समानुपातिक बन्दसूची बुझाउने भएका छन् । कांग्रेस, एमाले, नेपाली कम्युनिस्ट पार्टी, रास्वपा, राप्रपा, जसपा नेपाल, लोसपालगायत दलले सोमबार बन्दसूची बुझाउने भएका हुन् । आयोगले सूची बुझाउन आइतबार र सोमबारसम्म समय तोकेको छ । आसन्न प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसले समानुपातिकमा नयाँलाई अवसर दिने भएको छ । कांग्रेसले ०६४ देखि ०७९ सम्मको निर्वाचनमा समानुपातिकतर्फ अवसर पाएकाहरूलाई समानुपातिक उम्मेदवार नबनाउने निर्णय गरेको छ ।‘पार्टीमा पटक–पटक अवसर पाएकालाई यसपालि समानुपातिक उम्मेदवार नबनाउने निर्णय भएको छ, नयाँलाई अवसर दिनेछौँ,’ कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले भने, ‘सातै प्रदेशका नेताहरू, कार्य सम्पादन समितिमा भएका नेताहरूले प्रदेश–प्रदेशका नेता तथा कार्यकर्तासँग कुराकानी गर्दै छन् ।

सबै क्षेत्रबाट आएका नाम एकत्रित र परिमार्जन गरेर सूची बनाउँछौँ । भोलि टुंग्याएर निर्वाचन आयोगमा बुझाउँछौँ ।’ समानुपातिक सूचीलाई सोमबारसम्म अन्तिम रूप दिएर निर्वाचन आयोगमा बुझाउने उनले बताए । युवालाई पनि समावेश गर्ने नीति कांग्रेसले लिएको छ । महतका अनुसार आइतबारको केन्द्रीय कार्यसम्पादन समिति निर्वाचनमै केन्द्रित भएको छ । एमालेले समानुपातिकतर्फ सचिव पद्मा अर्यालको नेतृत्व रहने गरी ११० जना बन्दसूचीको उम्मेदवार टुंग्याएको छ । केन्द्रीय सचिवालयको आइतबारको बैठकले सोमबार निर्वाचन आयोगमा बुझाउने गरी बन्दसूची टुंग्याउने अन्तिम जिम्मेवारी अध्यक्ष केपी ओलीलाई दिएको छ । 

सचिव हिक्मत कार्कीले बैठकमा आएका सुझावलाई ध्यान दिएर अध्यक्ष ओलीले अन्तिम रूप दिएको नाम आयोगमा बुझाइने निर्णय भएको जानकारी दिए । उनका अनुसार बन्दसूचीमा ०७९ मा समानुपातिक र प्रत्यक्षतर्फ सांसद रहेका कसैलाई पनि उम्मेदवार बनाइएको छैन । यसअघि समानुपातिक सांसद नरहेकाको नामलाई समेटेर सूचीलाई अन्तिम रूप दिइनेछ । यद्यपि, ०७४ मा प्रत्यक्षतर्फ सांसद रहेकी अर्यालको नेतृत्वमा बन्दसूची बुझाउने तयारी छ ।अन्य समूहबाट पूर्वउपाध्यक्ष गुरु बराल र दलित समूहमा जितु गौतम दर्जीसहितको नाम पनि सूचीमा समेटिएको छ । सातै प्रदेशको सन्तुलन, समूह समावेशिताका पक्षलगायतलाई ध्यान दिएर बन्दसूचीलाई ओलीले अन्तिम रूप दिने कार्कीले बताए । 

बैठकले आगामी २४ पुसभित्र केन्द्रीय कार्यालयमा आउने गरी प्रत्यक्षतर्फका उम्मेदवार छनोट प्रक्रिया पनि अगाडि बढाउने निर्णय गरेको छ । एउटा मात्र निर्वाचन क्षेत्र भएका जिल्लाले २० पुसमा एक महिलासहित तीनजनाको नाम प्रदेश हुँदै केन्द्रमा सिफारिस गर्नुपर्ने बैठकको निर्णय छ । एकभन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लाले भने २० पुसमा जिल्लामा क्षेत्रीय कमिटीले जिल्लामा र २२ पुसमा जिल्ला कमिटीको बैठकबाट प्रदेश हुँदै २४ पुसमा अनिवार्य रूपमा केन्द्रीय कार्यालयमा नाम आउने गरी सिफारिस गर्न बैठकले निर्देशन दिने निर्णय गरेको छ । यससँगै एमाले पूर्ण रूपमा निर्वाचनको तयारीमा लागेको छ । 

कार्कीले पार्टीको प्राथमिकता संसद् पुनस्र्थापना रहे पनि सुरक्षा वातावरणले साथ दिएर प्रक्रिया अगाडि बढ्दै गएमा चुनावमा भाग लिने गरी नै तयारी अगाडि बढेको बताए । बैठकमा अध्यक्ष ओलीले राष्ट्रपति र प्रधानमन्त्रीको आयोजनामा भएको सर्वदलीय बैठकबारे पार्टीले राखेको धारणा र निष्कर्षबारे ब्रिफिङ गरेका थिए । त्यसक्रममा कांग्रेस सभापति शेरबहादुर देउवा र आफूले संसद् पुनस्र्थापना प्राथमिकता भए पनि शान्ति सुरक्षाको उचित प्रबन्ध भएर निर्भयको वातावरण हुँदा चुनावमा जान सकिने एउटै धारणा राखेको ब्रिफिङ गरेका थिए । नेपाली कम्युनिस्ट पार्टीले पनि समानुपातिक उम्मेदवारको बन्दसूची सोमबार बुझाउने तयारी गरेको छ । 

तल्ला तहबाट आएका नाम क्लस्टर मिलाएर सूची तयार पार्ने क्रम जारी रहेको नेता डा. बेदुराम भुसालले बताए । ‘हामी लिस्ट तयार पार्दै छौँ । भोलि आयोगमा बुझाउँछौँ,’ उनले भने, ‘देशभरबाट आएका सिफारिस हेर्दै छौँ । समावेशी बनाउने क्रममा युवालाई पनि समेट्छौँ ।’राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिक बन्दसूची सोमबार आयोगमा बुझाउने भएको छ । रास्वपाले प्रारम्भिक मतदानमार्फत समानुपातिक उम्मेदवार छनोट गरिरहेको छ । पार्टी सचिवालयले सोमबार बिहान १० बजेसम्म मतदानको समय थपेको छ । मतदानको नतिजाका आधारमा आयोगमा बन्दसूची बुझाइने महामन्त्री कविन्द्र बुर्लाकोटीले बताए । रास्वपा र काठमाडौं महानगर प्रमुख बालेन्द्र साह बालेनबिच सातबुँदे राजनीतिक सहमतिपछि रास्वपाले पहिले तयार पारेको समानुपातिक बन्दसूचीमा हेरफेर गरिने भएको छ ।

राप्रपाले समानुपातिक बन्दसूचीमा नाम राख्ने विषयमा छलफलका लागि सोमबार संसदीय दलको बैठक बोलाएको छ । बैठकमा समानुपातिक बन्दसूचीमा राख्ने नामबारे छलफल हुने प्रवक्ता मोहनकुमार श्रेष्ठले बताए । त्यसपछि केन्द्रीय कार्यसम्पादन समितिको बैठक बसेर बन्दसूची तयार पारी आयोगमा बुझाउने उनको भनाइ छ ।जसपा नेपाल र लोसपाबीच एकताको सहमति भएकाले समानुपातिक बन्दसूची सोमबार बुझाउने भएका छन् । लोसपा नेता शरतसिंह भण्डारीले दुवै पार्टीका पदाधिकारीहरूको काठमाडौंमा बसेको संयुक्त बैठकले एकताको निर्णय गरेको जानकारी दिँदै एकीकृत पार्टीकै नामबाट निर्वाचन आयोगमा समानुपातिकतर्फको बन्दसूची पेस गर्ने तयारी भइरहेको बताए । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।