आईतबार, ६ ब‌ैशाख २०८३

images

आईतबार, ६ ब‌ैशाख २०८३

आईतबार, ६ ब‌ैशाख २०८३

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×
images

कांग्रेस चुनावमा होमियो, एमालेमाथि पनि बढ्यो दबाब

संघीय, समावेशी, लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको संरक्षण तथा संस्थागत विकासका लागि निर्वाचनमा जानु आवश्यक रहेको कांग्रेसको बुझाइ छ ।

विघटित प्रतिनिधिसभाको सबैभन्दा ठुलो दल कांग्रेसले २१ फागुनको निर्वाचनमा सहभागी हुने औपचारिक निर्णय लिएको छ । संविधानको रक्षा र जेन–जी आन्दोलनले उठाएका परिवर्तनका आवाज संस्थागत गर्न निर्वाचन नै उचित मार्ग भएको कांग्रेसको निष्कर्ष छ । तर, न्यूनतम सुरक्षा सुनिश्चित नहुँदा भयरहित निर्वाचन कठिन हुने भन्दै कांग्रेसले तत्काल शान्ति–सुरक्षा सुधारका लागि सरकारसँग माग गरेको छ ।

प्रतिनिधिसभा पुनर्स्थापनातर्फ पनि नजर लगाएको कांग्रेसले पहिलोपटक केन्द्रीय कार्यसमिति बैठकबाट औपचारिक र स्पष्ट रूपमा निर्वाचनमा सहभागी हुने निर्णय लिएको छ । लोकतान्त्रिक शक्ति मानिने कांग्रेसको चुनावकेन्द्रित निर्णयले चुनावमा जान आनाकानी गरिरहेको विघटित प्रतिनिधिसभाको दोस्रो ठुलो शक्ति एमालेमाथि दबाब परेको छ । जवकि एमालेले संसद पुनर्स्थापनामा कांग्रेसको सहयोग माग्दै आएको छ । 

शनिबार बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले वर्तमान राजनीतिको उचित निकास निर्वाचन नै रहेको ठहर गर्दै सबै दलले भाग लिनुपर्नेमा जोड दिएको छ । ‘नेपाली कांग्रेस निर्वाचनमा भाग लिने निर्णय गर्दछ,’ बैठकपछि जारी विज्ञप्तिमा छ, ‘निर्वाचनमार्फत नै संविधानको रक्षा तथा जेन–जी प्रदर्शनका क्रममा परिवर्तनका लागि उठाइएका आवाजलाई संस्थागत रूप दिँदै देशलाई अघि बढाउन सकिन्छ भन्ने हाम्रो दृढ विश्वास रहेको छ ।’

संघीय, समावेशी, लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको संरक्षण तथा संस्थागत विकासका लागि निर्वाचनमा जानु आवश्यक रहेको कांग्रेसको बुझाइ छ । ‘संघीय, समावेशी, लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको संरक्षण तथा संस्थागत विकासका लागि फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा सबै राजनीतिक दलले उत्साहपूर्वक सहभागिता जनाउन आवश्यक छ,’ कांग्रेस विज्ञप्तिमा छ ।

२१ फागुनको निर्वाचनका लागि दल दर्ताको समय चार दिन मात्रै बाँकी रहँदा निर्वाचनमा जाने संस्थागत निर्णय गरेको कांग्रेसले शान्ति–सुरक्षामा भने गम्भीर चासो व्यक्त गरेको छ । ‘निर्वाचनलाई निष्पक्ष, विश्वसनीय र भयरहित बनाउनका लागि निर्वाचन आयोग, सरकार एवं सम्बद्ध पक्षलाई आवश्यक वातावरण निर्माण गर्न नेपाली कांग्रेस जोडदार माग गर्दछ,’ कांग्रेस विज्ञप्तिमा छ । 

अझै पनि निर्वाचनका लागि सुरक्षा चुनौती रहेको भन्दै कांग्रेसले भयमुक्त वातावरण सुनिश्चित गर्न सरकारसँग माग गरेको छ । ‘हाल हजारौँ कैदीबन्दी फरार रहनु, ठुलो परिमाणमा हातहतियार हराइरहनु, राजनीतिक दलहरूले निर्वाध रूपमा आफ्ना कार्यक्रम सञ्चालन गर्न नपाउनु र निर्वाचनका लागि आवश्यक न्यूनतम अवस्था पनि स्थापित हुन नसक्नु – यी सबै परिस्थितिहरू अत्यन्त गम्भीर छन्,’ कांग्रेसले भनेको छ, ‘तत्काल शान्ति–सुरक्षामा सुधार ल्याउन, सुरक्षाकर्मीको मनोबल उच्च बनाउन तथा आमनागरिकमा भयमुक्त वातावरण सुनिश्चित गर्न नेपाली कांग्रेस सरकारसँग जोडदार माग गर्दछ ।’ 

जेन–जी प्रदर्शनमार्फत परिवर्तनका लागि मुखरित आवाज सम्बोधन गर्न बहुपक्षीय राष्ट्रिय संवादमा कांग्रेसले जोड दिएको छ । सबै पक्षसँग समझदारी निर्माणको पहल गर्ने पनि कांग्रेसले निर्णय गरेको छ । यस्तै, कांग्रेसले सरकार गठन तथा प्रतिनिधिसभा विघटनको विषयको अन्तिम व्याख्या सर्वोच्चबाट हुने अपेक्षा गरेको छ । ‘अहिले अन्तरिम सरकार गठन तथा प्रतिनिधिसभा विघटन र निर्वाचनको मिति घोषणा भइसकेको अवस्थामा यो विषय राजनीतिक मात्र नभई संवैधानिक पनि भएको र सम्मानित सर्वोच्च अदालतमा यो विषय विचाराधीन रहेकोले सर्वोच्च अदालतबाट अन्तिम व्याख्या हुनेछ भन्ने नेपाली कांग्रेस विश्वास गर्दछ,’ विज्ञप्तिमा छ । 

२३ भदौमा जेन–जी पुस्ताका युवाहरूको आह्वानमा भ्रष्टाचारविरुद्ध तथा सुशासनका पक्षमा भएको प्रदर्शनका क्रममा अत्यन्तै अकल्पनीय र दु:खद घटना घट्न पुगेको ठहर गरेको छ । ‘उक्त दिन १९ जना युवाले ज्यान गुमाउनुपरेको घटनाप्रति नेपाली कांग्रेसको यो बैठक गहिरो दु:ख व्यक्त गर्दछ,’ कांग्रेसले भनेको छ । मृतक परिवारलाई उचित क्षतिपूर्ति प्रदान गर्न, घाइतेहरूको नि:शुल्क उपचार गर्न कांग्रेसले माग गरेको छ । आक्रमण, तोडफोड, लुटपाट र आगजनीका कारण २४ भदौमा अकल्पनीय जनधनको क्षति भएको भन्दै कांग्रेसले हिंसात्मक र आपराधिक गतिविधिका कारण देशमा राज्यविहीन अराजकताको स्थिति सिर्जना भएको विश्लेषण गरेको छ । 

कांग्रेसले जेन–जी पुस्ताले प्रदर्शनमार्फत उठाएका ‘भ्रष्टाचारको अन्त्य, सुशासन, पारदर्शिता र सूचनाको हक सुनिश्चितता’जस्ता प्रमुख विषय स्वाभाविक, वैध र आमनागरिकको आवाज भएको पनि ठहर गरेको छ । कांग्रेसले प्रदर्शनमार्फत उठाइएका सुशासनका मागलाई सदैव सकारात्मक ढंगले लिने गरेको स्मरण गराएको छ । साथै, माग पूरा गराउने प्रतिबद्धतासमेत कांग्रेसले गरेको छ । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ।