सोमबार, ७ बैशाख २०८३
इलाम देउमाई नगरपालिका– ५, धुसेनीकी मैया राई (लिम्बू) र उनका श्रीमान् गत शनिबारको पहिरोबाट बल्लतल्ल जोगिए । बाँसको टाटीले बनाएको घरमा मध्यराति पहिरो खसेपछि उनीहरूले भागेर ज्यान जोगाए । तर, एउटै आँगनमा घर भएका देवरदेउरानीको परिवारलाई पहिरोले आँखैअगाडि लगेको घटना उनको आँखामा ताजै छ । पहिरोमा परी मैयाका देवर दीपक, देउरानी ऋषिका र उनीहरूका छोरी दीपशिखा अनि ऋषिकाका भदा सौगात र सौजनले ज्यान गुमाए । एक बालिकाको स्थानीयले सकुशल उद्धार गरे ।
मैया अहिले आफन्तको घरमा बसिरहेकी छिन् । तर, उनी त्यस दिनको घटना भुल्न सक्ने अवस्थामा छैनन् । ‘घर भत्किएपछि आत्तिँदै छिमेकी र आफन्त बोलाउन गएँ,’ उनी भन्छिन्, ‘त्यहाँ आएकी भान्जीलाई जीवित नै निकालियो । पाँचजना एकैठाउँमा बिते । यस्तो आपत्ति त कहिल्यै सोचेका थिएनौँ । के–कसो गर्ने आजसम्म केही सोच्न सकेको छैन ।’मिर्गौलापीडित रहेका उनका देवर दीपक दिनभर अर्काकोमा हाते ट्याक्टरले खेत जोत्थे । साथै, काठ काट्ने काम पनि गर्थे । छिमेकी र आफन्तले पैसा उठाएर उनको उपचार गरेका थिए । ज्यालामजदुरी गरेर नै ६ महिनाअघि नयाँ घर बनाएका थिए । घरसँगै उनको परिवार पनि पहिरोमा पुरियो ।
१२ असोजमा दीपककी छोरी दीपशिखा लिम्बूको जन्मदिन थियो । त्यही जन्मदिनमा आएका थिए देउरानी ऋषिकाका भदा सौगात र सौजन ।माङसेबुङ–१, पाटीगाउँकी सादना लिम्बूको घर पनि पहिरोले लगेको छ । सादना आफू जसोतसो बाँच्न सफल भइन् । तर, जब रातको १ बज्छ, तब अझै उनलाई झस्काउँछ । पहिरोले नै पुरिएको समयमा पाँच दिनदेखि उनी निन्द्रामै बर्बराउँछिन्, झस्किएर उठ्छिन् । मिक्लाजुङबाट आएकी मामाकी छोरी बहिनी नेहा राईसँगै उनी सुतेकी थिइन् । राति एक्कासि घरमाथिबाट पहिरो गयो । दुई महिनाकी गर्भवती सादना घरसँगै पहिरोमा पुरिइन् । घरमा सातजना थिए । तीमध्ये बहिनी नेहासँगै उनकी सासुआमा र दिदीले पहिरोमा परी ज्यान गुमाए । दुई घण्टापछि श्रीमान् मदनसँगै छोराको जीवितै उद्धार भयो ।
केहीबेरपछि उद्धार गर्न गाउँले आएपछि भने सादनालाई बाँच्ने आशा जाग्यो । उनीसँगै छोरा संयोग र श्रीमान् मदनको जीवितै उद्धार भयो । त्यसपछि सादना बेहोस भइन् । उद्धार गरिएका तीन जनालाई नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरेर बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगियो ।सादनाको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मात्रै होस खुल्यो । ‘सँगै सुतेका बहिनी र म पहिरो गएपछि एकअर्काको अँगालोमा बाँधियौँ । दुवैजना चिच्यायौँ । तर, एक घण्टासम्म कोही आउन सकेन । जेठाजु घरबाट निस्किन सफल भएकाले गाउँमा गएर छिमेकी बोलाउनुभयो,’ उनी गहभरि आँसु पार्दै भन्छिन्, ‘बहिनी ब्लड क्यान्सरकी बिरामी थिई । औषधि खाँदै थिई । त्यसबिचमा म बेहोस भएँ । बहिनीले रगत छादेपछि मेरो अनुहारमा परेछ । त्यसले म ब्युँझिएँ । त्यसवेला बहिनीले दिदी म बाँच्दिनँ भनिन् ।’
अहिले उनीहरू उपचारपछि गाउँ फर्किएका छन् । घर भत्किएकाले गजुरमुखीस्थित आफन्तकहाँ शरण लिएर बसेका छन् । ‘अन्तिम अवस्थाबाट जीवन जोगियो । तर, अब केही बाँकी छैन । आफन्तकहाँ बसेका छौँ । अब त्यो पुरानो घरमा बस्न सकिँदैन । त्यो दिनको झल्को आउँछ,’ श्रीमान् मदन भन्छन्, ‘अब सरकारले हामीलाई कतै राख्छ भन्ने अपेक्षा छ । नसोचेको घटनाबाट बाँचेका छौँ । बाँच्ने दिन रहेछ । यस्तो विपत्ति कहिल्यै सोचेका थिएनौँ ।’ आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।