सोमबार, ७ बैशाख २०८३
पेट्रोलियम पाइपलाइनको पूर्ण क्षमता उपयोग गरेर ढुवानी खर्च कटौती गर्नुको सट्टा आयल निगमले मासिक पाँच करोड रुपैयाँ व्ययभार बढ्ने गरी ट्यांकरबाट पनि पेट्रोल ढुवानी गरिरहेको छ । अमलेखगन्ज डिपोमार्फत निगमले भारतबाट दैनिक २० देखि २२ ट्यांकरमा पेट्रोल ढुवानी गरिरहेको छ । त्यसका लागि १०४ ट्यांकर पालैपालो प्रयोग गरिएका छन् । तर, ट्यांकर व्यवसायीलाई पोस्न पाइपलाइनको पूर्ण क्षमता प्रयोग गरेको छैन । मोतीहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइन तयार भएपछि निगमले ०७४ देखि भारतबाट पाइपलाइनबाटै डिजेल ढुवानी गर्दै आएको छ । गत वर्ष असोजदेखि पेट्रोल पनि पाइपलाइनबाटै खसाल्न थालेको हो । पाइपलाइनको क्षमता प्रतिघण्टा दुई लाख ९० हजार लिटर पेट्रोलियम आयात गर्न सक्ने छ । अर्थात्, दैनिक करिब ७० लाख लिटर आयात गर्न मिल्छ ।
अहिले दैनिक ६० लाख लिटरसम्म पाइपलाइनबाट आयात भइरहेको छ । मधेशसहित काठमाडौं, विराटनगर, पोखरा र भैरहवा डिपोमा माग यहीँबाट पूर्ति हुन्छ । यसका लागि अमलेखगन्जमा एक करोड ७० लाख लिटर पेट्रोल र दुई करोड लिटर डिजल भण्डारण गर्न मिल्ने ट्यांकी छन् । तर, अचम्म ! निगमले पेट्रोलको स्थानीय आपूर्ति हुन नसकेको बहाना बनाएर ट्यांकरमा पनि ढुवानी गरिरहेको छ । यसमा कमिसनको खेल रहेको स्रोत बताउँछ । गत वर्षको असोजमा पाइपलाइनबाट पेट्रोल ल्याउन थालेपछि पनि निगमले ट्यांकरबाट समेत नियमित आयात गरिरहेको छ । बरौनीबाट अमलेखगन्जसम्म पेट्रोल ढुवानी गर्दा निगमले ट्यांकरलाई प्रतिट्रिप ७८ हजार ३५६ रुपैयाँ ४० पैसा (१५ कात्तिकदेखि लागू नयाँ दर) भुक्तानी गर्छ । स्रोतका अनुसार १०४ ट्यांकरलाई पालो लगाउँदा महिनामा एउटाले औसत ६ पटक ढुवानी गर्न पाउँछ । यो आधारमा महिनामा ६२४ ट्रिप ढुवानी हुन्छ । जसमा हाल कायम भाडादरअनुसार निगमले चार करोड ८८ लाख ९४ हजार १४४ रुपैयाँ ट्यांकरधनीलाई मासिक भुक्तानी गर्नुपर्छ । प्रत्येक १५ दिनमा पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको आधारमा भाडादरसमेत फेरबदल हुने भए पनि मासिक औसत पाँच करोड खर्च भइरहेको छ ।
‘पेट्रोलको ढुवानी भाडाबापत निगमले भुक्तानी गरेको रकमबाट केही कमिसन डिपो र केन्द्रीय कार्यालयमा रहेको व्यवस्थापन तहसम्म आइपुग्छ,’ स्रोतले भन्यो, ‘त्यसैले विनापैसा ढुवानी हुने पेट्रोलका लागि पनि निगमले औसतमा मासिक पाँच करोड खर्च गरिरहेको छ । उपभोक्ताले तिरेको करबाट ढुवानी व्यवसायीलाई पोस्ने र माथिल्ला कर्मचारीले कमिसन खाने काम भइरहेको छ ।’निगमको अमलेखगन्ज डिपो प्रमुख प्रलयंकर आचार्यले पनि पेट्रोल ओसार्न ट्यांकर प्रयोग भइरहेको बताए । ‘मधेश प्रदेशका पेट्रोल पम्पमा दैनिक चार–पाँच सय किलोलिटर पेट्रोल खपत हुन्छ, यो माग धान्नका लागि बरौनीबाट दैनिक २० देखि २२ ट्यांकरमा पेट्रोल ल्याउने गरिएको छ,’ उनले भने । अमलेखगन्ज डिपोले काठमाडौं, विराटनगर, पोखरा र भैरहवा डिपोमा दैनिक औसतमा १२ सय किलोलिटर अर्थात् १२ लाख लिटर पेट्रोल पठाउने गरेको छ । डिपोप्रमुख आचार्यले आवश्यक सबै पेट्रोल पाइपलाइनबाटै ल्याउन सकिने बताए ।
निगमका प्रवक्ता मनोज ठाकुरले भने पाइपलाइनमा समस्या आएका वला मात्रै ट्यांकर प्रयोग गरिएको झुटो दाबी गरे । ‘पाइपलाइनमा कहिलेकाहीँ समस्या आएका वेला ट्यांकरबाट पेट्रोल ओसार्छौँ, अरू वेला पनि न्यून संख्यामा ट्यांकर परिचालन हुने गरेको छ,’ उनले भने, ‘पाइपलाइनबाट मात्रै तेल ल्याउने र ट्यांकर विस्थापित गर्ने निर्णय गर्न खोज्दा ट्यांकरचालकले विरोध गरेका थिए । तर, नियम–कानुअनुसार चल्नुपर्ने भएकाले अहिले प्रयोग भइरहेका ट्यांकरको संख्या पनि कटौती गर्न सकिन्छ ।’तर, निगमले नियमित रूपमै ट्यांकर प्रयोग गरेर पेट्रोल ओसारिरहेको अमलेखगन्ज डिपोप्रमुख आचार्यले बताए । बुधबार मात्रै पनि करिब २० ट्यांकरले बरौनीबाट अमलेखगन्जका लागि पेट्रोल लिएर आएको स्रोतले बतायो । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ।