सोमबार, ७ ब‌ैशाख २०८३

images

सोमबार, ७ ब‌ैशाख २०८३

सोमबार, ७ ब‌ैशाख २०८३

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×
images

एमालेको दोस्रो विधान महाधिवेशन आजदेखि सुरु, ‘डिजिटल शैलीमा’ ऐतिहासिक आयोजना

उद्घाटन कार्यक्रम परम्परागत शैलीभन्दा फरक हुनेछ। करिब १२ मिनेटभित्र सम्पन्न हुने उद्घाटनमा मङ्गल धुन, सहिदको सम्झनामा शोक धुन, राष्ट्रिय धुन र अन्तर्राष्ट्रिय कम्युनिस्ट गीतको धुन बजाइनेछ।

ललितपुर, भदौ २० । नेपाल कम्युनिस्ट पार्टी (एमाले) को दोस्रो विधान महाधिवेशन आज (शुक्रबार) बाट गोदावरीस्थित सनराइज सभा हलमा सुरु हुँदैछ। दुई हजार ३४१ प्रतिनिधि सहभागी हुने यस महाधिवेशनलाई भव्य र ऐतिहासिक बनाउन विशेष तयारी गरिएको छ। सातदोबाटोदेखि गोदावरीसम्म १० किलोमिटर दुरीभित्र १८ वटा स्वागतद्वार निर्माण गरिएको छ भने सडकभरि हँसिया–हथौडा र सूर्य चिह्न अंकित रातो झन्डा सजाइएको छ। आवतजावत सहज बनाउन प्रतिनिधिहरूका लागि निःशुल्क गाडीको व्यवस्था पनि मिलाइएको छ। एमालेले यसपटकको महाधिवेशनलाई ‘निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो सङ्कल्प, समृद्ध नेपाल, सुखी नेपाली हाम्रो गन्तव्य’ भन्ने नारासहित सुरु गरेको हो।

यो महाधिवेशनलाई डिजिटल स्वरूपमा ऐतिहासिक बनाउन विशेष ध्यान दिइएको छ। पाँचौँ महाधिवेशनसम्म बाँस र काठका मञ्च, हस्तलिखित ब्यानर प्रयोग भए पनि यसपटक सभा हललाई पूर्ण डिजिटल प्रणालीसहित सजाइएको छ। २,८४० सिट क्षमता भएको हलमा छ वटा कम्प्युटर बूथमार्फत प्रतिनिधिको डिजिटल स्क्यानिङ हुने व्यवस्था छ। चारवटा प्रवेशद्वारमध्ये पहिलो द्वारबाट पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली मात्रै प्रवेश गर्नेछन्। अन्य पदाधिकारी, मन्त्री, मुख्यमन्त्री र प्रतिनिधिहरू दोस्रो र तेस्रो प्रवेशद्वारबाट प्रवेश गर्नेछन्। हलको भित्तामा पुष्पलाल, मदन भण्डारी, मनमोहन अधिकारी, कार्लमार्क्स, एङ्गेल्स र लेनिनका पूर्णकदका तस्वीर राखिएका छन्। हलभित्र २,२०० स्क्वार फिट डिजिटल बोर्ड, पूर्ण वाइफाईसहितको मिडिया सेन्टर, सजावटी पोखरीमा खेलिरहेका सेता हाँसको दृश्य र मञ्चमा पार्टी तथा महाधिवेशनको लोगो राखिएको छ।

उद्घाटन कार्यक्रम परम्परागत शैलीभन्दा फरक हुनेछ। करिब १२ मिनेटभित्र सम्पन्न हुने उद्घाटनमा मङ्गल धुन, सहिदको सम्झनामा शोक धुन, राष्ट्रिय धुन र अन्तर्राष्ट्रिय कम्युनिस्ट गीतको धुन बजाइनेछ। उद्घाटनपछि उपाध्यक्ष विष्णुप्रसाद पौडेलले विधान संशोधन प्रस्ताव र महासचिव शङ्कर पोखरेलले संगठनात्मक प्रतिवेदन प्रस्तुत गर्नेछन्। यस्तै, केन्द्रीय अनुशासन आयोग, लेखा आयोग, निर्वाचन आयोग र सल्लाहकार परिषद्का अध्यक्षहरूले आ–आफ्ना प्रतिवेदन प्रस्तुत गर्नेछन्। आगामी २१ गतेदेखि भने महाधिवेशनमा पेस भएका प्रतिवेदन र प्रस्तावमाथि १० समूहमा विभाजन गरी गहिरो छलफल गरिनेछ।