मङ्गलबार, ८ बैशाख २०८३
काठमाडौं । २३ र २४ भदौ २०८२ को जेनजी आन्दोलन जाँचबुझ गर्न गठित आयोगले सरकारलाई एकपक्षीय प्रतिवेदन बुझाएको पाइएको छ । पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा गठित ३ सदस्यीय आयोगले गत २४ फागुनमा प्रधानमन्त्री सुशीला कार्कीलाई प्रतिवेदन बुझाएको थियो । राजधानीलाई प्राप्त ९०७ पृष्ठ लामो यो प्रतिवेदन सरकारले हालसम्म गोप्य राखेको छ ।
‘जनआस्था’ले पहिलोपटक सार्वजनिक गरेको यो प्रतिवेदनको आधिकारिकताका विषयमा जाँचबुझ आयोगका एकजना सदस्यले ‘सार्वजनिक दस्ताबेजमा विमति राख्नु नपर्ने’ जवाफ राजधानीलाई दिएका छन् । प्रतिवेदनमा २३ भदौमा भएको गोलीकाण्ड र दमनलाई बर्बर भन्दै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखकसहितका राष्ट्रिय सुरक्षा परिषद्का सबै सदस्यदेखि फिल्ड अफिसर हुँदै काठमाडौंका प्रजिअसम्मलाई कारबाहीको सिफारिस गरिएको छ ।
तर, गत २४ भदौमा सिंहदरबार, सर्वोच्च अदालत, संसद् भवनसहित उपत्यकाका सबैजसो प्रहरी चौकी, नेताका घर, सार्वजनिक सम्पत्ति व्यावसायिक प्रतिष्ठान जलाउने र विध्वंस मच्चाउनेमाथि भने आयोग मौन छ । २४ भदौको घटनालाई विध्वंस भएकोसम्म स्वीकार गरेको आयोगले कारबाही गर्न सिफारिस गर्न मिल्नेगरी ठोस सबुद नभेटेको उल्लेख गरेको छ ।
‘भाद्र २४ गते घटनामा संलग्न भएका व्यक्तिहरूको सम्बन्धमा निक्र्यौल गर्न आयोगलाई अहिलेसम्मको छानबिनबाट अभियोजनको लागि सिफारिस गर्न मिल्ने गरी ठोस सबुद प्रमाण संकलन गर्न सकिएको छैन,’ प्रतिवेदनमा भनिएको छ, ‘आयोगलाई सहयोग पुग्ने गरी कुनै इन्टेलिजेन्स रिपोर्ट सरकारी वा गैरसरकारी निकायबाट हालसम्म प्राप्त हुन सकेको छैन ।’
आयोगले आफूलाई प्राप्त कार्यादेश र अवधिका कारण दोषी प्रमाणित गर्न नसकेको प्रतिवेदनमै उल्लेख गरेको छ । ‘आयोगले प्राप्त कार्यादेश निश्चित तर छोटो अवधिको लागि रहेकाले देशभरिका घटनाहरू विस्तृतरुपमा छानबिन गर्ने तत्काल कोही कसैलाई दोषी प्रमाणित गर्न समय र जनशक्ति अभावका कारणले आयोगले सकेन,’ प्रतिवेदनमा भनिएको छ ।
कसले ग-यो २४ भदौको विध्वंस ?
२४ भदौको प्रदर्शन सुरुमा २३ भदौमा मारिएका युवाहरूको समर्थनमा सरकारको विरोधमा सुरु भएको तर केही समयपछि नै यसमा आपराधिक प्रवृत्तिका व्यक्तिहरू पनि सामेल हुन पुगेको अयोगको प्रतिवेदनमा उल्लेख छ । ‘त्यस दिन व्यक्तिका घर, सपिङ मल, सरकारी कार्यालयहरू, व्यापारिक प्रतिष्ठानहरू, होटलहरू लुट्ने, तोडफोड गर्ने, आगजनी गर्ने, प्रहरीका हतियार लुट्ने र प्रहरीमाथि आक्रमण गर्ने, आगो लगाउने र विभिन्न राजनैतिक दलका व्यक्तिमाथि आक्रमण गर्ने जस्ता कार्य आपराधिक मनोवृत्तिबाट प्रभावित भएको देखिन्छ,’ प्रतिवेदनमा उल्लेख छ ।
२४ गतेको विध्वंसमा स्ट्रिट भेण्डरदेखि कवाडी संकलन गर्ने, ग्यारेजमा काम गर्ने मानिस, बस, ट्रकलगायतका सवारी साधनहरूका चालक, सह–चालक, उपत्यका बाहिरबाट आएका निर्माण कार्यमा संलग्न व्यक्ति, वर्कसपमा काम गर्ने व्यक्तिदेखि सुकुम्वासीसम्मका व्यक्तिहरूको संलग्नता रहेको प्रतिवेदनमा उल्लेख छ । आयोगले कारागारबाट भागेका र प्रहरीको हिरासत कक्षबाट छुटेका केही व्यक्तिको पनि यसमा सहभागिता रहेको उल्लेख गरेको छ ।
‘केही स्थानमा राजनीतिक प्रतिशोध साँध्न र अन्य केही ठाउँमा व्यक्तिगत रिसइवी साधन पनि अर्काको घरमा आगजनी गर्ने कार्य गरेको देखिन्छ । केही संख्यामा उरन्ठ्याउला जेनजी युवा प्रदर्शनमा सहभागी भएको तर तोडफोड, लुटपाट र आगजनी गर्ने जस्ता मनसाय नहुँदा नहुँदै पनि भीडको लहलहैमा लागि आवेगमा आई आपराधिक कार्यमा समावेश भएको र ठूलो संख्यामा नेतृत्वविहीन, उद्देश्यविहीन, दिग्भ्रमित युवाहरूको पनि संलग्नता थियो,’ प्रतिवेदनमा उल्लेख छ । आजको राजधानी दैनिकमा समाचार छ।