आईतबार, ६ बैशाख २०८३
कांग्रेसमा महाधिवेशनको मितिलाई लिएर विवाद उत्कर्षमा पुगेको छ । महाधिवेशन चुनावअघि कि पछि गर्ने भन्ने विषयमा सहमति जुट्न सकेको छैन । संस्थापन निर्वाचनअघि महाधिवेशन गर्नै नहुने र इतरसमूह महाधिवेशन नगरी चुनावमा जान नसक्ने विषयमा आ–आफ्नै अडानमा कायम भएपछि केन्द्रीय कार्यसमिति बैठक दुई दिन धकेलिएको छ । शनिबारसम्मका लागि स्थगित बैठक अब सोमबार बस्ने भएको छ । गत २८ असोजमा सुरु भएको बैठकमा गत बिहीबार केन्द्रीय सदस्य र पदाधिकारीले बोल्ने क्रम सकिएपछि शनिबारसम्मका लागि बैठक स्थगित भएको थियो । केन्द्रीय कार्यसमिति बैठक स्थगित गरेर सहमतिका लागि केन्द्रीय कार्यसमिति बैठक बोलाइएको थियो । तर, कार्यसम्पादन समितिमा पनि सहमति नभएपछि केन्द्रीय कार्यसमिति बैठक पुन: सोमबारसम्मका लागि स्थगित भएको छ ।
‘महाधिवेशनको मितिमा सहमति जुट्न नसकेपछि बैठक सोमबारसम्मका लागि स्थगित गरिएको हो । एक नेताले भने, ‘जति छलफल भए पनि नेताहरूले अडान छाडेका छैनन् । निर्वाचनअघि महाधिवेशन कि निर्वाचनपछि भन्नेमै विवाद छ ।’ संस्थापन पक्ष निर्वाचनपछि मात्रै महाधिवेशन गर्नुपर्ने पक्षमा छ भने इतरपक्ष निर्वाचनअघि नै महाधिवेशन गर्नुपर्ने अडानमा छ । तत्काल नियमित महाधिवेशन हुन नसके विशेष महाधिवेशनमा जानुपर्ने माग इतरपक्षको छ । सहमतिको प्रयासमा शनिबार पनि केन्द्रीय कार्यसम्पादन समितिको बैठक बसे पनि निष्कर्ष निस्कन सकेन । ललितपुरमा बसेको बैठकमा पदाधिकारी, पूर्वपदाधिकारी र केही केन्द्रीय सदस्य सहभागी थिए । तर, नेताहरूले अडान छाडेनन् । विवादको चुरो नै महाधिवेशन कहिले भन्नेमा रह्यो ।
संस्थापन पक्षले निर्वाचनपछि र इतरपक्षले निर्वाचनअघि महाधिवेशन गर्नुपर्ने अडान त्यागेनन् । त्यसपछि आइतबार पुन: छलफल गर्ने भन्दै नेताहरू बाहिरिए । बैठकमा कार्यवाहक सभापति खड्का, उपसभापति धनराज गुरुङ, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासहित विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौला र विजयकुमार गच्छदार सहभागी थिए । खड्काले महाधिवेशनको विषयमा मध्यमार्ग पहिल्याउन आग्रह गरेका थिए । गुरुङले विशेष महाधिवेशनका निम्ति दर्ता गरिएको प्रस्ताव वैधानिक बाध्यता भएको बताए । त्यसलाई रोक्न आगामी पुसमा नियमित महाधिवेशन गर्नुपर्ने बताए । निर्वाचनअघि नेतृत्व परिवर्तन गरेर निर्वाचनमा जानुपर्नेमा उनले जोड दिए ।
महामन्त्री थापा र शर्माले भने अब विशेष महाधिवेशन गर्नुपर्ने बताएका छन् । विशेष महाधिवेशनको प्रस्ताव फिर्ताको ग्यारेन्टी आफू नलिने उनले थापाले बताए । उनले महाधिवेशनको ग्यारेन्टी भए मात्रै हस्ताक्षरकर्ता प्रतिनिधिलाई विश्वासमा लिन सकिने बताए । उनले केन्द्रीय समितिबाटै विशेष महाधिवेशनको निर्णय गरेर जान सकिने बताए । अन्यथा भेलामार्फत अघि बढ्न सक्ने उनको चेतावनी छ । ‘पुस मसान्तमा महाधिवेशनको मिति घोषणा गरेर मात्रै हुँदैन । महाधिवेशन हुन्छ भन्ने कुरामा हस्ताक्षरकर्ता प्रतिनिधिहरू ढुक्क हुने वातावरण बनाउनुपर्छ । विधानमा भएको व्यवस्थालाई बेवास्ता गर्न मिल्दैन,’ थापाको भनाइ उद्धृत गर्दै एक नेताले भने, ‘केन्द्रीय समितिले निर्णय नगरे भेलाबाट अघि बढ्न सक्छ ।’
सहमति जुटाउनकै लागि बैठक सोमबारसम्मका लागि स्थगित गरिएको प्रचार विभाग प्रमुख मीन विश्वकर्माले बताए । ‘नेताहरूबिच छलफल चलिरहेको छ । सोमबारसम्म निष्कर्षमा पुगिन्छ । सोमबार सहमतिमै निर्णय गरेर बैठक समापन हुन्छ ।’ उनले भने । सभापति शेरबहादुृर देउवा उपसभापति खड्कालाई कार्यवाहक सभापतिको जिम्मा दिएर सिंगापुरमा उपचार गरेर फर्किँदासम्म पनि कांग्रेसमा सहमति जुट्न सकेको छैन । देउवा स्वदेश फर्किए पनि शनिबारको कार्यसमिति बैठकमा पनि सहभागी भएनन् । कार्यवाहक दिएकाले सभापति बैठकमा सहभागी नभएको पूर्वउपभापति विमलेन्द्र निधिले बताए । ‘उहाँले कार्यवाहक दिइसक्नुभएको छ । त्यसैले कार्यवाहक सभापतिकै सभापतित्वमा बैठक बस्दै आएको छ ।’ उनले निर्वाचनअघि महाधिवेशन सम्भव नभएको बताए । ‘महाधिवेशन गर्ने भनेर मात्रै हुँदैन, त्यसका विविध पक्षलाई ध्यान दिनुपर्छ । निर्वाचनअघि महाधिवेशन गरेर पक्ष–विपक्षमा कार्यकर्ता विभाजित हुँदा त्यसले धेरै ठुलो प्रभाव पार्छ,’ निधिले भने ।
कार्यवाहक सभापति खड्काले निर्णय लिन ढिला भएको स्विकारेका छन् । हतारमा निर्णय गरेर फुर्सदमा पछुताउनुभन्दा आवश्यक छलफल गरेर निर्णयमा पुग्नु राम्रो हुने उनी बताउँछन् । देश र पार्टीमाथि देखिएको प्रतिकूल अवस्थामा निर्णय लिन केही समय लाग्नु स्वाभाविक भएको उनले बताए । ‘हतारमा निर्णय गरेर पछुताउनुभन्दा विगतका गल्ती कमजोरी सच्याउँदै समस्या समाधान गर्ने गरी कांग्रेसले निर्णय लिन्छ । त्यसका लागि केही समय पक्कै लागेको छ । हामी फेरि पनि सहमतिमै निर्णयमा पुग्छौँ,’ उनले भने । २८ असोजमा पार्टी कार्यालय सानेपामा सुरु भएको बैठक एक महिना बित्दा पनि महाधिवेशनकै मिति अल्मलिएको छ । राष्ट्रिय राजनीति, मुलुकमा उत्पन्न संकट, जनजीविकाको विषय बैठकको प्राथमिकतामा परेको छैन । केन्द्रीय कार्यसमिति बैठक सुरु गर्दै सभापति शेरबहादुर देउवाले समयमै महाधिवेशन हुने र नेतृत्व हस्तान्तरण गर्ने बताएका थिए । तर, महाधिवेशनको मितिमा सहमति जुट्न नसक्दा कार्यसमिति बैठक नै स्थगित भएको छ । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।