मङ्गलबार, ८ ब‌ैशाख २०८३

images

मङ्गलबार, ८ ब‌ैशाख २०८३

मङ्गलबार, ८ ब‌ैशाख २०८३

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×
images

कांग्रेस आधिकारिकता विवाद : असन्तुष्ट समूह विलय कि विद्रोहमा ?

काठमाडौं । नेपाली कांग्रेसभित्रका प्रभावशाली नेता अहिले प्रभावहीन भएका छन् । सर्वोच्च अदालतको शुक्रबारको फैसलापछि पाँचपटक प्रधानमन्त्री, दुईपटक पार्टी सभापति भइसकेका शेरबहादुर देउवाको दुःखद राजनीतिक बहिर्गमन भएको छ । विशेष महाधिवेशनबाट निर्वाचित गगनकुमार थापा सभापति रहेको केन्द्रीय समितिलाई सर्वाेच्च अदालतले वैधता दिएपछि जेनजी आन्दोलन लगत्तैबाट छायाँमा पर्दै आएका देउवा अन्ततः नेतृत्व तहबाटै बर्हिगमित भएका छन् । उनीसँगै पूर्णबहादुर खड्का कार्यवाहक सभापति रहेको चौधौं महाधिवेशनबाट निर्वाचित पदाधिकारी र सदस्यको समेत राजनीतिक भविष्य अब विशेष महाधिवेशनबाट निर्वाचित नेतृत्वको हातमा पुगेको छ ।

कांग्रेस अनुशासन समितिले पार्टीको ‘लेटर हेड’ दुरुपयोग गरेको अभियोगमा तत्कालीन कार्यवाहक सभापति खड्कालाई ७ दिने स्पष्टीकरण सोधिसकेको छ । अदालतको फैसलालगत्तै खड्का समूह अब यस्ता विषयलाई कसरी झेल्ने भन्ने विषयमा ‘लगभग अनिर्णीत’ छ । कार्यवाहकको दाबी गर्दै आएकामा पार्टीविहीन नेताले अब के गर्ने भन्ने निर्णयसमेत गर्न सकेका छैनन् । शनिबार छलफल गरेका नेताले आइतबार (आज) पुनः छलफल गर्न १४औं महाधिवेशन (चौम)बाट निर्वाचित केन्द्रीय समितिको बैठक बोलाएका छन् । निर्वाचन आयोगदेखि सर्वोच्च अदालतसम्मले विशेष महाधिवेशनबाट निर्वाचित थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दिएपछि पार्टीमा १४औं महाधिवेशनबाट निर्वाचित समितिलाई आधिकारिक दाबी गर्दै आएका नेताहरू पार्टीविहीन अवस्थामा पुगेका हुन् । 

थापा नेतृत्वको समितिलाई मानेर १५औं महाधिवेशनको तयारीमा जुट्ने कि विद्रोह गर्ने भन्ने निर्णय आइतबारको बैठकबाट तय हुने नेताहरू बताउँछन् । देउवामात्रै नभई पूर्वउपसभापति पूर्णबहादुर खड्का, विमलेन्द्र निधि, प्रकाशमान सिंह, विजयकुमार गच्छदार, धनराज गुरुङ, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, डा. शशांक कोइराला, डा. शेखर कोइरालालगायतका नेताहरू अहिले पार्टीविहीन अवस्थामा पुगेका छन् । १४औं महाधिवेशनबाटै सभापति हुन खोजेर पनि नसकेका नेताहरूले १५औं महाधिवेशनबाट सभापति हुने चाहना साथ निरन्तर गुटबन्दी गर्दै आएका थिए ।

शनिबार बसेको अनौपचारिक बैठकमा देउवा र खड्का पक्षधर नेताहरूले गगनकुमार थापासँग मिलेर अघि बढ्दै १५औं महाधिवेशनबाट नेतृत्व लिने प्रयास गर्ने सुझाव दिए पनि यो समूहले निर्णय भने गरिसकेको छैन । छुट्टै दल गठन नगरी कांग्रेसको सदस्यता सभापति थापाले भनेजस्तै वडामा पुगेर नवीकरण गर्नुपर्ने बाध्यता नेताहरूलाई आइपरेको छ । राजनीतिबाटै अवकाश लिनुपर्ने उमेरमा पुगेका नेताले छुट्टै दल गठन गर्दा पहिलाजस्तै प्रभाव जमाउन नसकिने निष्कर्षमा पुगेका छन् । त्यसैले अब कांग्रेसमै रहेर सदस्यता नवीकरण गर्दै १५औं महाधिवेशनबाट शक्ति आर्जन गर्ने थापा नेतृत्वको कांग्रेसमा फर्किनुपर्ने बाध्यता आइपरेको छ । 

थापा नेतृत्वको कांग्रेस अवैधानिक भएको निष्कर्षसहित अदालत पुगेका देउवा समूहका नेताहरू अब आफैंले अवैधानिक भनेको कांग्रेसमा सदस्यता नवीकरणका लागि वडासम्म पुग्नुपर्ने हुन्छ । कांग्रेस विधानअनुसार देउवा १५औं महाधिवेशनमा सभापति उठ्न पाउँदैनन् । तर उनको बहिर्गमन दुःखद भएको निष्कर्ष सो समूहका नेताहरूको छ । २३ र २४ भदौ २०८२ को जेनजी आन्दोलनपश्चात् उपसभापति खड्कालाई कार्यबाहकको जिम्मा दिएका देउवा पार्टीको नियमित महाधिवेशन गराउँदै आफू निकट नेतालाई सभापति बनाएर अवकाश खोजेका थिए । आजको राजधानी दैनिकमा समाचार छ।