सोमबार, ७ बैशाख २०८३
काठमाडौँ । बाराको सिमरा क्षेत्रमा जारी तनाव नियन्त्रणमा नआएपछि प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रिय सुरक्षा परिषद्को बैठक बोलाएकी छन्। प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठक बिहीबार दिउँसो २ः३० बजे सिंहदरबारस्थित सुरक्षा परिषद् सचिवालयमा बस्नेछ। सिमरा विमानस्थल क्षेत्रमा एमाले नेताद्वय शंकर पोखरेल र महेश बस्नेत कार्यक्रमका लागि जाने तयारीकै बीच स्थानीय जेनजी युवाहरूले बुधबार तोडफोड गरेपछि परिस्थिती उत्तेजित बनेको थियो। त्यसपछि प्रशासनले तत्काल कर्फ्यु आदेश जारी गरेको थियो। लगातार बढ्दै गएको तनाव नथामिएपछि कर्फ्यु आज राति ८ बजेसम्म पुनः लम्ब्याइएको छ।
यसअघि शुक्रबार बसेको राष्ट्रिय सुरक्षा समिति बैठकले आसन्न निर्वाचनका लागि सुरक्षा व्यवस्था सुदृढ गर्न सेना परिचालनको सिफारिस गर्दै रक्षा मन्त्रालयलाई पत्राचार गरेको थियो। बाराको सिमरामा उत्पन्न भएको परिस्थितिबारे छलफल गर्न बैठक बोलाइएको जनाइएको छ । यसअघि हिजो साँझ पनि गृह मन्त्रालयमा सुरक्षा परिषद्को बैठक बसेको थियो । गृहमन्त्री ओमप्रकाश अर्यालले आजै बिहान पनि आफ्ना मातहतका सबै सुरक्षा प्रमुखसँग सिंहदरबारमा छलफल गरेका थिए ।