आईतबार, ६ ब‌ैशाख २०८३

images

आईतबार, ६ ब‌ैशाख २०८३

आईतबार, ६ ब‌ैशाख २०८३

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×
images

जेनजी आन्दोलन भड्काउने मुख्य भूमिका टिओबीको

नयाँ बानेश्वर चोकमा रोकिएका उनीहरूले भिडलाई भड्काउने गरी अभिव्यक्ति दिएको पनि देखिन्छ । 

गत २३ र २४ भदौको जेन–जी आन्दोलन भड्काउन टिब्बटेन ओरिजिनल ब्लड (टिओबी)को मुख्य भूमिका रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको छ । टिओबी ज्याकेट लगाई आन्दोलनमा सहभागी तेन्जिङ दावाको बयानका आधारमा यस्तो खुलेको हो । प्रहरीले २६ असोजमा दावालाई पक्राउ गरी उनीविरुद्ध अभद्र व्यवहार कसुरअन्तर्गत म्याद थप गरेर जिल्ला प्रहरी परिसर काठमाडौंले अनुसन्धान गरिरहेको छ । अनुसन्धानका क्रममा टिओबी ज्याकेट लगाएका बाइक राइडरहरू आन्दोलन भड्काउने भूमिकामा देखिएको खुलेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी रमेश थापाले टिओबी ज्याकेट लगाएका बाइक राइडरहरू आन्दोलन भड्काउने गरी सहभागी रहेको देखिने बताए । ‘टिओबी ज्याकेट लगाएर आन्दोलनमा सहभागीमध्ये एकजना पक्राउ परेका छन् । उनीविरुद्ध म्याद थप भएको छ । २३ र २४ भदौको आन्दोलनलाई भड्काउने गरी उनीहरूले गतिविधि गरेजस्तो देखिन्छ । घटनाको अनुसन्धान भइरहेकाले बाँकी तथ्य खुल्दै जालान्,’ उनले भने ।

प्रहरीका अनुसार उनीहरू रेडिओ सेटसहित आन्दोलनमा सहभागी भएका थिए । सोही रेडियो सेटमार्फत उनीहरूले बाइकमा सहभागी युवालाई निर्देशन दिन्थे । आन्दोलनमा रेडियो सेटसहित सहभागी हुनु अनौठो विषय रहेको काठमाडौं परिसर प्रमुख एसएसपी थापाले बताए । ‘रेडियो सेटसहित आन्दोलनमा सहभागी भएकाले आशंका जन्माएको छ । अनुसन्धान गरिरहेका छौँ,’ उनले भने ।

प्रहरीले जेन–जी आन्दोलनमा उनीहरू सहभागी भएका सबै ठाउँका सिसिटिभी फुटेज संकलन गरेको छ । नागरिकस्तरबाट प्राप्त भएका भिडियो र फोटोलाई पनि प्रहरीले सूक्ष्म ढंगले विश्लेषण गरिरहेको छ । यसक्रममा प्रहरीले नागरिकस्तरबाट ३६ हजारभन्दा धेरै फोटो र भिडियो संकलन गरेको छ । टिओबी ज्याकेट लगाई आन्दोलनमा सहभागी हुनेहरूको मुभमेन्ट र गतिविधि अध्ययन गर्न प्रहरीले सोही भिडियो र फोटोलाई आधार बनाएको छ । ‘हामीसँग ३६ हजारभन्दा धेरै भिडियो र फोटो संकलन भएका छन् । त्यसबाहेक पनि अन्य फुटेज हामीसँग छन् । सबैको सूक्ष्म ढंगले अध्ययन भइरहेको छन्,’ उनले भने ।

प्रहरीलाई प्राप्त भिडियोअनुसार टिओबी समूह २३ भदौमा करिब १२:३० बजे बिजुलीबजारस्थित आर्कब्रिजबाट रोयल इन्फिल्ड बाइक हुइँक्याउँदै आन्दोलनमा सहभागी भएको देखिन्छ । अनामनगरतर्फबाट आएका उनीहरूले टिओबीअंकित कालो रङको हाफ टिसर्ट र हाफ ज्याकेट लगाएको देखिन्छ । बाइक हुइँक्याउँदै आएका उनीहरू आन्दोलनमा मिसिएपछि नयाँ बानेश्वरतर्फ अघि बढेको देखिन्छ । त्यसअघिसम्म लगभग शान्त जेन–जी प्रदर्शनमा सहभागी हुनेहरू त्यसपछि भने हुलहुज्जतसहित बाइकसँगै नयाँ बानेश्वरतर्फ अघि बढेको देखिन्छ । नयाँ बानेश्वर चोकमा रोकिएका उनीहरूले भिडलाई भड्काउने गरी अभिव्यक्ति दिएको पनि देखिन्छ । 

प्रहरीका अनुसार टिओबीअंकित हाफ टिसर्ट र ज्याकेटमा मात्रै १५० भन्दा धेरै युवा सहभागी थिए । यो तथ्यलाई आफूलाई टिओबी समूहका सल्लाहकार बताउने सुरेन्द्र गुरुङ ‘हा किङ’ले पनि स्वीकार गरेका छन् । प्रदर्शनलगत्तै उनले ‘हा किङ’ नामको आफ्नो फेसबुक पेजमार्फत आन्दोलनमा कम्तीमा १५० युवा सहभागी भएको बताएका थिए । तर, उनले अहिले त्यो पोस्ट हटाएका छन् । पछिल्लोपटकका पोस्टमा भने उनले टिओबीको अर्थ ‘टिब्बटेन ओरिजिनल ब्लड’ नभई ‘द ओरिजिनल ब्रदर्स’ रहेको फेसबुकमार्फत बताएका छन् । र, २३ भदौको आन्दोलनमा आफ्ना युवा सहभागी भएको र २४ भदौको आन्दोलनमा भने आफ्ना कुनै पनि युवा सहभागी नभएको दाबी गरेका छन् । तीन दिनअघि फेसबुक फेजमार्फत उनले भनेका छन्, ‘यदि कसैसँग तानासाही, तोडफोड वा आगजनी गर्ने हाम्रो समूह वा हाम्रा सदस्यहरूमाथि ठोस प्रमाण (प्रामाणिक भिडियो, तस्बिर, कागजात वा कानुनी दाबी) छ भने हामी ती प्रमाणको सामना गर्न र आवश्यक परे कानुनअनुसार सजाय भोग्न पूर्ण रूपमा तयार छौँ । सत्य सिद्ध भएपछि कानुनले जे माग्छ हाम्रा लागि स्वीकार्य हुनेछ ।’

तर, प्रहरीको अनुसन्धानले उनीहरू २४ भदौको प्रदर्शननमा पनि सहभागी भएको देखाएको छ । विशेषगरी बौद्ध, गौशाला, नयाँ बानेश्वरलगायत क्षेत्रमा २४ भदौको प्रदर्शनमा उनीहरू सहभागी देखिएको प्रहरीको भनाइ छ । आगजनी, तोडफोड र लुटपाट खुल्ने खालको ठोस प्रमाण भने प्रहरीले फेला पार्न सकेको छैन । प्रहरीका अनुसार आन्दोलनका दिन उनीहरूको लोकेसन पनि प्रहरीले ट्रयाकिङ गरिरहेको छ । आन्दोलनको समय, त्यसअघि र त्यसपछि उनीहरूले गरेका टेलिफोन संवाद, एसएमएस, सामाजिक सञ्जालमा गरिएका अन्तरक्रियासमेत प्रहरीले यसक्रममा अध्ययन गरिरहेको छ । उनीहरू र हामी नेपाल संस्थाका सञ्चालक सुदन गुरुङबिच स्थापित हुने खालको प्रमाण भने हालसम्म फेला नपरेको प्रहरीको भनाइ छ । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ।