सोमबार, ७ बैशाख २०८३
नुवाकोट जिल्लाको दुप्चेश्वर गाउँपालिका वडा न. ६ मा रहेको प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल दुप्चेश्वर महादेव मन्दिरमा आधुनिक सुबिधासंम्पन्न सौचालय निर्माण हुने भएको छ । दुप्चेश्वर क्षेत्र विकास कोषका कोषाध्यक्ष राजकुमार श्रेष्ठ का अनुसार दुप्चेश्वर क्षेत्र विकास कोषको आम्दानीबाट सो सौचालय निर्माण गरिनेछ । कोषले करिब ३५ लाख लागतमा सौचालय निर्माण हुने जनाएको छ । त्यस्तै त्यसको लागि डीपीआर समेत तयार गरि निर्माण कार्य सुरु गरिएको कोषाध्यक्ष श्रेष्ठले बताए। उक्त सौचालयमा वृद्ध र अपांगको लागि कम्बोडसहितको सुबिधा हुनेछ। यस मन्दिरमा दैनिक हजारौं श्रद्धालुहरु दर्शन गर्न आउने गरेका छन् ।
त्यस्तै अहिले कोषले आउंदै गरेको मङ्सिर धान्य पुर्णिमाको मेलाको लागि आबश्यक पूर्वाधार निर्माणकार्यलाई तिब्ररुपमा अघि बढाएको छ । कोषले गत आर्थिक वर्ष २०८१/८२ मा कुल रु १ करोड ४४ लाख ८० हजार भेटी सङ्कलन गरेको थियो भने रु ३२ लाख २१ हजार खर्च गरिएको जनाएको छ । कोषले प्रत्येक दिन बेलुका ५ बजेपछि आफ्नो आम्दानी तथा खर्च विवरण सार्वजनिक गर्दै आएको छ। भेटी गणना मन्दिर परिसरमा सिसिटिभीको निगरानीमा हुने गरेको छ । नुवाकोट जिल्लाको उत्तर भागमा अवस्थित दुप्चेश्वर मन्दिर अहिले धार्मिक श्रद्धा र पर्यटक आकर्षणको केन्द्र बन्दै गएको छ। तादी नदी किनारमा रहेको यो प्राचीन मन्दिर भगवान शिवलाई समर्पित प्रसिद्ध धार्मिकस्थल समेत हो । 
भगवान शिवलाई समर्पित यो मन्दिर क्षेत्र वर्षभरि भक्तजनहरूले भरिने गरेको छ । यहाँ हरेक वर्ष मङ्सिर धान्य पुर्निमामा विशेष मेला लाग्ने गरेको छ भने यो मेला पाँच दिनसम्म चल्ने गरेको छ । त्यस्तै साउन महिना,प्रत्येक सोमबार,शिवरात्री, तीज,माघे सङ्क्रान्ति तथा महादेवको बिशेष दिन जस्ता अवसरमा हजारौँ भक्तजनहरुको भीड लाग्ने गर्दछ । हालका वर्षहरूमा स्थानीय तह र धार्मिक समितिको संयुक्त प्रयासमा मन्दिर क्षेत्रलाई सुबिधा सम्पन्न बनाइएको छ । मन्दिर परिसरमा बाटो,झिलिमिली बत्ती, सिसिटिभीबाट निगरानी, शुद्ध पिउने पानी, शौचालय, पार्किङ क्षेत्र, विश्राम गृहलगायत बिभिन्न सुबिधा यस मन्दिरमा पाउन सकिन्छ भने सुरक्षित नुहाउने व्यवस्था गरिएको छ ।
यसले धार्मिक पर्यटनलाई थप सुदृढ बनाएको छ। दुप्चेश्वर मन्दिर परिसरबाट देखिने पहाड,चिसो हिमाल तादी नदीको रमणीय दृश्य,वरिपरी हरियाली बनजंगल र शान्त वातावरणले भक्तजनहरूलाई आध्यात्मिक शान्ति प्रदान गर्छ । कोषले मन्दिर क्षेत्र सफा र आकर्षक राख्ने काम गरिरहेको छ । ऐतिहासिक, धार्मिक र प्राकृतिक सौन्दर्य झल्काउने दुप्चेश्वर मन्दिर अब केवल पूजा गर्ने स्थान मात्र नभई धार्मिक पर्यटनको उत्कृष्ट गन्तव्यका रूपमा समेत विकसित हुँदै गैरहेको छ । दुप्चेश्वर महादेवको दर्शन गर्न काठमाण्डौंलगायत देशभरबाट धार्मिक पर्यटक आउने गरेका छन् भने बिदेशी पर्यटक समेत आउने गर्दछन । 
काठमाडौंबाट कसरी पुग्न सकिन्छ
काठमाडौंबाट जाने यात्रुहरु काठमाडौंको टोखा-छहरे सडकखण्ड हुँदै चौघडा-खरानिटार-समुन्द्रटार हुँदै दुप्चेश्वर मन्दिर करिव ६५ किलोमिटर यात्रा गर्दा पुग्न सकिन्छ भने धादिङ गल्छी हुँदै यात्रा गर्ने यात्रुहरु भने देबिघाटबाट गंगटे-ढिकुरे-माछापोखरी- खरानिटार-समुन्द्रटार हुँदै दुप्चेश्वर मन्दिर करिव ९५ किलोमिटर यात्रा गर्दा पुग्न सकिन्छ। यी दुवै सडक पक्कि कालोपत्र गरिएको सडक रहेका छन्। यात्रा गर्न यी मार्ग सहज र सुलभ छन् ।
के भन्छ किमदन्ति
पौराणिक कथन अनुसार करिब पाँच सय वर्षअघि स्थानीय एक तामाङको दुहुनो गाई हराएपछि खोजी गर्दै जाँदा पहरोमा दुध चढाइरहेको भेटिएकाले उक्त ठाउँमा दुग्धेश्वर महादेव रहेको विश्वासमा प्रत्येक वर्ष धान्य पूर्णिमाका दिन विशेष मेला लाग्दै आएको छ । यस मेलामा तामाङ, शेर्पा,गुरुङ जातिका परम्परागत संस्कृतिको प्रदर्शन र स्थानीय उत्पादनहरूको बिक्री वितरण समेत हुने गरेको छ । जात्रा हेर्ने र दर्शन गर्ने दर्शनार्थीहरुको यो बेला ठुलो भिड समेत लाग्ने गरेको छ । पशुपतिनाथको दोस्रो रुप मानिने दुप्चेश्वर महादेवलाई “मागेको पुग्ने, आटेको पूरा हुने देवता” का रूपमा विश्वास गरिन्छ।
किमदन्ति अनुसार समुन्द्रमन्थन गर्दा निक्लिएको विष सेवनपछि छट्पटीएका महादेव पशुपतिनाथ मन्दिर हुँदै दुप्चेश्वरमा वास बसेर रसुवाको गोसाइँकुण्ड गएको उल्लेख छ । दुप्चेश्वर महादेवलाई सानो पशुपतिनाथको रूपमा पुज्ने गरिन्छ । मेलाको विशेष रौनक चतुर्दशी र पूर्णिमाको दिन हुने गर्दछ । जोडी जुराउन र सन्तान माग्नकै लागी पनि यहाँ हजारौ भक्तजनहरु आउने गर्दछन् । सन्तान नभए सन्तान दिने (बिशेष - छोरा ) , चौपायाहरू नब्याएमा दाम्लो चढाएमा गर्भाधान हुने, बालबालिकको बोली नफुटेमा बोली फुट्ने , आफुले चिताएको कुरा माग्दा पाइने लगायतका जनविश्वासमा भक्तजनहरू आउने गरेका छन् । हिन्दू र वौद्ध धर्मालम्बीहरुले दोस्रो पशुपतिनाथको रुपमा यस दुप्चेश्वर महादेवलाइ मान्दै आएका छन् ।
आन्तरिक पर्यटनको प्रचुर सम्भावना
हिमालको फेद र पवित्र तादी खोलाको किनारमा अवस्थित दुप्चेश्वर महादेव मन्दिर धार्मिक पर्यटनको उत्कृष्ट गन्तव्यका रूपमा परिचित हुँदैछ । काठमाडौंबाट करिब २ घण्टाको दूरीमा पुग्न सकिने यस स्थलमा आन्तरिक तथा बाह्य दुवै पर्यटक आकर्षित गर्न सकिने प्रचुर सम्भावना छ। धार्मिक पर्यटनको गन्तव्यको लागि गतिलो सम्भावना बोकेको दुर्गम क्षेत्रमा रहेको यस धार्मिकस्थलको सरकारी र गैर सरकारी स्तरबाट प्रचारप्रसार हुन सके आन्तरिक एवम् वाह्य पर्यटकहरु सजिलै भित्र्याउन सकिन्छ । सरकारी तथा निजी क्षेत्रबाट प्रचार–प्रसार र पूर्वाधार विकासमा जोड दिइएमा दुप्चेश्वर नेपालकै प्रमुख धार्मिक–पर्यटकीय गन्तव्य बन्न सक्नेछ ।