सोमबार, ७ बैशाख २०८३
काठमाडौं । नेपाल प्लाइउड उत्पादक संघको २६औँ वार्षिक साधारणसभा काठमाडौंको बुढानिलकण्ठस्थित लेमन ट्री प्रीमियर होटलमा सम्पन्न भएको छ । साधारणसभामा देशभरका प्लाइउड उद्योगी तथा व्यवसायीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। साधारणसभामा वन तथा वातावरणमन्त्री माधवप्रसाद चौलागाईं, नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष हेमराज ढकाल, निर्यात व्यवसायी महासंघका अध्यक्ष गोविन्दप्रसाद घिमिरे, उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य शिवप्रसाद घिमिरेलगायत विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।
संघका अध्यक्ष होमप्रसाद घिमिरेले प्लाइउड उद्योग उच्च निर्यात सम्भावना बोकेको क्षेत्र भएको उल्लेख गर्दै यसको दिगो विकास र प्रवर्द्धनका लागि सरकार र उद्योगीबीच घनिष्ठ सहकार्य अपरिहार्य रहेको बताए । पछिल्ला तीन–चार वर्षयता प्लाइउड उद्योग आत्मनिर्भर बन्दै निर्यातसमेत सुरु भएको जानकारी दिँदै उनले नेपालको वन स्रोतको समुचित उपयोगबाट आर्थिक समृद्धि सम्भव हुने धारणा व्यक्त गरे । कच्चा पदार्थ स्वदेशमै सदुपयोग गर्नुपर्नेमा पनि उनले जोड दिए। प्लाइउड उद्योगबाट प्रत्यक्ष करिब २० हजार र अप्रत्यक्ष रूपमा ५० हजारभन्दा बढीले रोजगारी पाउँदै आएको उल्लेख गर्दै अध्यक्ष घिमिरेले उद्योगको संरक्षण र दिगो विकासका लागि राज्यको निरन्तर सहयोग आवश्यक रहेको बताए।
संघका संस्थापक अध्यक्ष देवानन्द सरावगीले प्लाइउड उद्योगको इतिहासदेखि वर्तमान अवस्थासम्म, अर्थतन्त्रमा खेलेको भूमिका, विद्यमान समस्या, चुनौती र समाधानका उपाय समेटिएको कार्यपत्र प्रस्तुत गरे। नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष हेमराज ढकालले ४६ प्रतिशत वन क्षेत्र रहेको नेपालले आन्तरिक स्रोत–साधनको अधिकतम उपयोग गर्नुपर्ने आवश्यकता औँल्याउँदै प्लाइउड उद्योगले त्यस दिशामा महत्वपूर्ण योगदान पुर्याइरहेको बताए । उनले उद्योगको प्रवर्द्धन र विकासका लागि महासंघको तर्फबाट सक्दो सहयोग रहने प्रतिबद्धता व्यक्त गरे।
निर्यात व्यवसायी महासंघका अध्यक्ष गोविन्दप्रसाद घिमिरेले आयात प्रतिस्थापनमा योगदान पुर्याएकोमा प्लाइउड उत्पादक संघलाई धन्यवाद दिँदै स्वदेशी कच्चा पदार्थको प्रयोगमार्फत आन्तरिक स्रोत परिचालन गरी अर्थतन्त्र मजबुत बनाउनुपर्नेमा जोड दिए । रुख कटानसम्बन्धी कानुनी र व्यवहारिक चुनौतीप्रति ध्यानाकर्षण गराउँदै उनले सहजीकरणका लागि सरकारको सक्रिय भूमिका आवश्यक रहेको बताए। उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य शिवप्रसाद घिमिरेले वन क्षेत्रसम्बन्धी नीतिहरू विकासको बाधक बन्दै आएको टिप्पणी गर्दै वार्षिक सात अर्ब रुपैयाँभन्दा बढी राजस्व योगदान गर्ने वन क्षेत्रका हजारौँ विघा जमिन बाँझो अवस्थामा रहेको बताए ।
ती क्षेत्रमा वृक्षारोपण र व्यावसायिक उपयोगका लागि जनचेतना विस्तार गर्नुपर्नेमा उनले जोड दिए। कार्यक्रमलाई सम्बोधन गर्दै वन तथा वातावरणमन्त्री माधवप्रसाद चौलागाईंले वन उद्योगको प्रवर्द्धन र विकासका लागि आफ्नो कार्यकालभर सक्रिय भएर काम गर्ने प्रतिबद्धता व्यक्त गरे। साधारणसभाका अवसरमा प्लाइउड उद्योग तथा संघको विकासमा दीर्घकालीन योगदान पुर्याएका विभिन्न व्यक्तित्वहरूलाई सम्मानसमेत गरिएको थियो।