सोमबार, ७ बैशाख २०८३
डडेल्धुरामा जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । बिहीबार बिहान ८ बजेतिर भएको दुर्घटनामा परेर ४ जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। नवदुर्गा गाउँपालिका-५ स्थित उकल्ली काणेमा चामाबाट डडेल्धुरातर्फ गइरहेको उग्रतारा यातायातको से १ ज ७३८ नम्बरको जिप दुर्घटनामा परि नवदुर्गा–५ का २३ वर्षीय सुरेश पार्की, ४० वर्षीया तारा अवस्थी,१८ वर्षीय सुरेश साउद र ७२ वर्षीया कलावती साउदको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा अन्य चार जना घाइते भएका छन् । घाइते हुनेमा नवदुर्गा–५ बस्ने १८ वर्षीया सुशिला विक, चार वर्षीया बालिका प्रतिका पार्की, ४८ वर्षीय चन्द्रबहादुर साउद र जिप चालक ३५ वर्षीय रामबहादुर साउद छन् । उनीहरुमध्ये सुशिला विक र जिप चालक रामबहादुर साउदको अवस्था गम्भीर छ । जिप सडकबाट करिब ४ सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।