आईतबार, ६ बैशाख २०८३
३१ भदौ, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आन्दोलनको म्याण्डेट अनुसार भ्रष्टाचारसम्बन्धी आयोग बनाउने बताएकी छिन । बीबीसी नेपाली सेवालाई दिएको विशेष अन्तर्वार्तामा कार्कीले भ्रष्टाचार छानबिनका लागि छुट्टै आयोग बनाउने जानकारी दिएकी छन् । यो आन्दोलनको म्याण्डेट नै भएकाले आयोग बनाउन आवश्यक पर्ने उनको भनाइ थियो । उनले आयोगले अनसुन्धान गरेर अर्को सरकारका लागि सहज हुने आधार तयार गरिदिने बताइन् ।
बीबीसी नेपालीलाई दिएको अन्तर्वार्तामा प्रधानमन्त्री कार्कीले भनिन् ‘कति भ्रष्टाचार भएको छ । अनियमितिता भएको छ त्यसको अनुसन्धान गरेर भए पनि हामीले कारबाही गर्ने सम्म मात्र पुर्यायौं भने सरकारले काम गर्न सक्छ । तर हामी बाटो चाहिँ बनाउँछौं’ ।उनले राजनीतिक व्यक्तिलाई मन्त्रिपरिषद्मा नराख्ने र विषय विज्ञलाई मन्त्रीमा प्राथमिकता दिने बताइन ।
जेनजी आन्दोलनको दमन जाँचबुझका लागि तीन ससस्यीय आयोग बन्ने जानकारी दिंदै उनले सुरुमा एक महिनाको समय दिने र नसकिएको अवस्थामा थप १५ दिन समय उपलब्ध गराउने जानकारी दिइन् । मन्त्रिपरिषद्को बैठकले हिजो नै आयोग बनाउने सैद्धान्तिक निर्णय गरेको थियो । भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि आन्दोलनकारीहरूको प्रस्तावअनुसार राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रधानमन्त्री नियुक्त भएकी सुशीला कार्कीले मन्त्रिपरिषद् ११ सदस्यीय मात्रै बनाउने तयारी गरेकी छन् ।