सोमबार, ७ ब‌ैशाख २०८३

images

सोमबार, ७ ब‌ैशाख २०८३

सोमबार, ७ ब‌ैशाख २०८३

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×
images

मतदाताबाट सकारात्मक प्रतिक्रिया पाएको छु : राजन गौतम

नुवाकोट। नुवाकोट–१ मा आगामी प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा राजनीतिक माहोल दिनप्रतिदिन तातिँदै गएको छ । लामो समयदेखि पालैपालो सत्ता र प्रतिनिधित्व गर्दै आएका नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) लाई यसपटक मतदाताबाट नयाँ ढंगको प्रश्नको सामना गर्नुपरेको छ । “सुधार, सुशासन र समावेशी विकास”को मूल नारासहित मतदाता माझ पुगेका प्रलोपा उम्मेदवार राजन गौतमले आफुले घरदैलो अभियानमा जाँदा उत्साहजनक र सकारात्मक प्रतिक्रिया पाइरहेको बताएका छन्। 

आम नागरिकमा देखिएको असन्तुष्टिलाई मुद्दा–केन्द्रित एजेन्डामार्फत सम्बोधन गर्ने प्रतिबद्धतासहित मैदानमा उत्रिएको उनले बताए। घरदैलोका क्रममा उनले संघीयताको सुदृढीकरण, युवालाई स्थानीय तहमै रोजगारी सिर्जना, कृषि आधुनिकीकरण र पारदर्शी बजेट व्यवस्थापनलाई प्राथमिकतामा राखेको बताएका छन् । “हामी नारा मात्र होइन, कार्ययोजना लिएर आएका छौँ। स्थानीय स्रोत–साधनको अधिकतम उपयोग गर्दै परिणाममुखी काम गर्ने हाम्रो स्पष्ट रोडम्याप छ,” गौतमले भने। 

डा.बाबुराम भट्टराई संरक्षक रहेको प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) ले आफूलाई वैकल्पिक शक्तिका रूपमा प्रस्तुत गर्दै चुनावी मैदानमा आक्रामक उपस्थिती जनाएको हो । प्रलोपाले परम्परागत शक्ति–सन्तुलन तोड्दै नुवाकोट–१ लाई “नयाँ राजनीतिक संस्कृतिको प्रयोगशाला” बनाउने दाबी गरेको छ। युवामुखी कार्यक्रम, उद्यमशीलता प्रवर्द्धन र प्रविधिमैत्री प्रशासनिक सुधारमार्फत स्थानीय अर्थतन्त्रलाई गतिशील बनाउने लक्ष्य प्रस्तुत गरिएको छ। स्थानीय युवाहरू र पहिलोपटक मतदान गर्ने मतदाताबीच पार्टीको लोकप्रियता बढ्दो रहेको र पुराना मतदाताबाट पनि समर्थन आफुले पाइरहेको गौतमले बताए ।  

स्पष्ट एजेन्डा र स्थानीय नेतृत्वको सशक्त उपस्थितिले पार्टीलाई प्रतिस्पर्धी बनाएको गौतम बताउँछन्। परिवर्तनको अपेक्षा बोकेका मतदातालाई लक्षित स्पष्ट मुद्दा र निरन्तर घरदैलोले प्रतिस्पर्धालाई रोचक बनाएको छ । आगामी निर्वाचनमा मतदाताको विश्वासलाई मतमा रूपान्तरण गर्न सके प्रलोपा नुवाकोट–१ मा नयाँ शक्ति सन्तुलन निर्माण गर्न सक्षम हुने गौतमले बताए ।