सोमबार, ७ बैशाख २०८३
नुवाकोट, मङ्सिर १०। धान्यपूर्णिमाको अवसर पारेर नुवाकोटको ऐतिहासिक तथा धार्मिक गन्तव्य दुप्चेश्वर महादेव मन्दिर परिसरमा भव्य मेला लाग्दैछ । मङ्सिर १५ गतेदेखि १८ गतेसम्म चल्ने मेलामा करिब २ लाख भन्दा धेरै दर्शनार्थीले दुप्चेश्वर महादेवको दर्शन गर्ने अनुमान गरिएको दुप्चेश्वर क्षेत्र विकास कोषका कोषाध्यक्ष राजकुमार श्रेष्ठले न्युज बिहानीलाइ बताए। उनका अनुसार तयारीहरू तीव्र गतिमा अघि बढाइएको छ भने आबस्यक सम्पूर्ण पुर्व तयारीहरु सम्पन्न भएका छन्। धार्मिक आस्था, सांस्कृतिक परम्परा र प्राकृतिक सौन्दर्यले भरिपूर्ण दुप्चेश्वर क्षेत्रमा हरेक वर्ष झैँ यस वर्षको मेलालाई “सफल, मर्यादित, भव्य र व्यवस्थित” बनाउने लक्ष्यसहित पूर्वतयारीमा जुटिएको कोषले बताएको छ।
मेला अवधिमा भव्य पूजा–अर्चना, सांस्कृतिक कार्यक्रम, स्थानीय उत्पादनको प्रदर्शनी तथा दर्शनार्थीका लागि विशेष व्यवस्थापन रहनेछ। भीड बढ्ने सम्भावना ध्यानमा राखी सुरक्षा योजना, ट्राफिक व्यवस्थापन, स्वास्थ्य सेवा, फोहोर व्यवस्थापन र सूचना केन्द्र स्थापना जस्ता कार्यहरू तीव्र रूपमा अघि बढाइएको क्षेत्र विकास कोषले जानकारी दिएको छ। शौचालय, पिउने पानी, पार्किङ, आपतकालीन स्वास्थ्य सेवा लगायतका पूर्वाधार विस्तार गरिँदैछ। मेलाका मुख्य प्रवेश–निकास मार्ग, सांस्कृतिक मंच, व्यापारिक स्टल र विश्राम क्षेत्र समेत हुनेछ । स्थानीय पर्यटन प्रवर्द्धन, रोजगारी र आर्थिक गतिविधिमा ठूलो योगदान यस मेलाले पुर्याउने विश्वासका साथ दुप्चेश्वर महादेवलाई क्षेत्रीय धार्मिक गन्तव्यबाट राष्ट्रिय आकर्षणको केन्द्र बनाउन सहयोग गर्ने कोषको बिस्वास रहेको छ । मेला सुरु हुन अब केही दिन मात्र बाँकी रहेका बेला स्थानीय समुदाय, स्वयंसेवक, सुरक्षा निकाय र गाउँपालिकाको सहकार्यमा सम्पूर्ण तयारीहरू अन्तिम चरणमा पुगेका छन्।
पबित्र तादी खोलाको किनारमा अबस्थित मन्दिर, जंगल र धार्मिक आस्थाले घेरिएको दुप्चेश्वर क्षेत्र यस वर्ष धान्यपूर्णिमाको अवसरमा झनै उत्सवी माहोलले भरिने भएको छ । धार्मिक विश्वासका अनुसार दुप्चेश्वर महादेव क्षेत्रलाई प्राचीन तीर्थरूपेण मानिन्छ। धान्यपूर्णिमालाई कृषि, समृद्धि र जीवनचक्रसँग जोडिएको पर्व मानिँदा यहाँको मेलाले धार्मिक दर्शनसहित सांस्कृतिक विविधताको भव्य प्रदर्शन पनि गर्ने परम्परा छ। सामाजिक सञ्जाल, मिडिया र धार्मिक नेटवर्कमार्फत दुप्चेश्वरको धार्मिक–पर्यटकीय सम्भावना विस्तारै उच्च स्तरमा फैलिँदैछ। विशेषगरी युवा, पर्यटक, अध्यात्मिक साधक तथा पहाडी–पाखुरा क्षेत्र अध्ययन गर्नेहरूका लागि दुप्चेश्वर भ्रमण–योग्य सांस्कृतिक–प्राकृतिक संयोजन स्थल बनिरहेको छ । नुवाकोट जिल्लाको उत्तर भागमा अवस्थित दुप्चेश्वर मन्दिर अहिले धार्मिक श्रद्धा र पर्यटक आकर्षणको केन्द्र बन्दै गएको छ। तादी नदी किनारमा रहेको यो प्राचीन मन्दिर भगवान शिवलाई समर्पित प्रसिद्ध धार्मिकस्थल समेत हो ।
भगवान शिवलाई समर्पित यो मन्दिर क्षेत्र वर्षभरि भक्तजनहरूले भरिने गरेको छ । यहाँ हरेक वर्ष मङ्सिर धान्य पुर्निमामा विशेष मेला लाग्ने गरेको छ भने यो मेला पाँच दिनसम्म चल्ने गरेको छ । पशुपतिनाथको दोश्रो रुप मानिने दुप्चेश्वर महादेवमा साउन महिना,प्रत्येक सोमबार,शिवरात्री, तीज,माघे सङ्क्रान्ति तथा महादेवको बिशेष दिन जस्ता अवसरमा हजारौँ भक्तजनहरुको भीड लाग्ने गर्दछ । हालका वर्षहरूमा स्थानीय तह र धार्मिक समितिको संयुक्त प्रयासमा मन्दिर क्षेत्रलाई सुबिधा सम्पन्न बनाइएको छ । मन्दिर परिसरमा बाटो,झिलिमिली बत्ती, सिसिटिभीबाट निगरानी, शुद्ध पिउने पानी, शौचालय, पार्किङ क्षेत्र, विश्राम गृहलगायत बिभिन्न सुबिधा यस मन्दिरमा पाउन सकिन्छ भने सुरक्षित नुहाउने व्यवस्था गरिएको छ । यसले धार्मिक पर्यटनलाई थप सुदृढ बनाएको छ।
दुप्चेश्वर मन्दिर परिसरबाट देखिने पहाड,चिसो हिमाल तादी नदीको रमणीय दृश्य,वरिपरी हरियाली बनजंगल र शान्त वातावरणले भक्तजनहरूलाई आध्यात्मिक शान्ति प्रदान गर्छ । कोषले मन्दिर क्षेत्र सफा र आकर्षक राख्ने काम गरिरहेको छ । ऐतिहासिक, धार्मिक र प्राकृतिक सौन्दर्य झल्काउने दुप्चेश्वर मन्दिर अब केवल पूजा गर्ने स्थान मात्र नभई धार्मिक पर्यटनको उत्कृष्ट गन्तव्यका रूपमा समेत विकसित हुँदै गैरहेको छ । दुप्चेश्वर महादेवको दर्शन गर्न काठमाण्डौंलगायत देशभरबाट धार्मिक पर्यटक आउने गरेका छन् भने बिदेशी पर्यटक समेत आउने गर्दछन ।
काठमाडौंबाट कसरी पुग्न सकिन्छ
काठमाडौंबाट जाने यात्रुहरु काठमाडौंको टोखा-छहरे सडकखण्ड हुँदै चौघडा-खरानिटार-समुन्द्रटार हुँदै दुप्चेश्वर मन्दिर करिव ६५ किलोमिटर यात्रा गर्दा पुग्न सकिन्छ भने यात्रामा करिव ३ घण्टा लाग्नेछ। दैनिक काठमाडौँको सामाखुसीबाट सवारीसाधन लाग्नेछ भने धादिङ गल्छी हुँदै यात्रा गर्ने यात्रुहरु भने देबिघाटबाट गंगटे-ढिकुरे-माछापोखरी- खरानिटार-समुन्द्रटार हुँदै दुप्चेश्वर मन्दिर करिव ९५ किलोमिटर यात्रा गर्दा पुग्न सकिन्छ। यी दुवै सडक पक्कि कालोपत्र गरिएको सडक रहेका छन्। यात्रा गर्न यी मार्ग सहज र सुलभ छन् ।
के भन्छ किमदन्ति
पौराणिक कथन अनुसार करिब पाँच सय वर्षअघि स्थानीय एक तामाङको दुहुनो गाई हराएपछि खोजी गर्दै जाँदा पहरोमा दुध चढाइरहेको भेटिएकाले उक्त ठाउँमा दुग्धेश्वर महादेव रहेको विश्वासमा प्रत्येक वर्ष धान्य पूर्णिमाका दिन विशेष मेला लाग्दै आएको छ । यस मेलामा तामाङ, शेर्पा,राई,गुरुङ जातिका परम्परागत संस्कृतिको प्रदर्शन र स्थानीय उत्पादनहरूको बिक्री वितरण समेत हुने गरेको छ । जात्रा हेर्ने र दर्शन गर्ने दर्शनार्थीहरुको यो बेला ठुलो भिड समेत लाग्ने गरेको छ । पशुपतिनाथको दोस्रो रुप मानिने दुप्चेश्वर महादेवलाई “मागेको पुग्ने, आटेको पूरा हुने देवता” का रूपमा विश्वास गरिन्छ।
किमदन्ति अनुसार समुन्द्रमन्थन गर्दा निक्लिएको विष सेवनपछि छट्पटीएका महादेव पशुपतिनाथ मन्दिर हुँदै दुप्चेश्वरमा वास बसेर रसुवाको गोसाइँकुण्ड गएको उल्लेख छ । दुप्चेश्वर महादेवलाई सानो पशुपतिनाथको रूपमा पुज्ने गरिन्छ । मेलाको विशेष रौनक चतुर्दशी र पूर्णिमाको दिन हुने गर्दछ । जोडी जुराउन र सन्तान माग्नकै लागी पनि यहाँ हजारौ भक्तजनहरु आउने गर्दछन् । सन्तान नभए सन्तान दिने (बिशेष - छोरा ) , चौपायाहरू नब्याएमा दाम्लो चढाएमा गर्भाधान हुने, बालबालिकको बोली नफुटेमा बोली फुट्ने , आफुले चिताएको कुरा माग्दा पाइने लगायतका जनविश्वासमा भक्तजनहरू आउने गरेका छन् । हिन्दू र वौद्ध धर्मालम्बीहरुले दोस्रो पशुपतिनाथको रुपमा यस दुप्चेश्वर महादेवलाइ मान्दै आएका छन् ।
आन्तरिक पर्यटनको प्रचुर सम्भावना
हिमालको फेद र पवित्र तादी खोलाको किनारमा अवस्थित दुप्चेश्वर महादेव मन्दिर धार्मिक पर्यटनको उत्कृष्ट गन्तव्यका रूपमा परिचित हुँदैछ । काठमाडौंबाट करिब २ घण्टाको दूरीमा पुग्न सकिने यस स्थलमा आन्तरिक तथा बाह्य दुवै पर्यटक आकर्षित गर्न सकिने प्रचुर सम्भावना छ। धार्मिक पर्यटनको गन्तव्यको लागि गतिलो सम्भावना बोकेको दुर्गम क्षेत्रमा रहेको यस धार्मिकस्थलको सरकारी र गैर सरकारी स्तरबाट प्रचारप्रसार हुन सके आन्तरिक एवम् वाह्य पर्यटकहरु सजिलै भित्र्याउन सकिन्छ । सरकारी तथा निजी क्षेत्रबाट प्रचार–प्रसार र पूर्वाधार विकासमा जोड दिइएमा दुप्चेश्वर नेपालकै प्रमुख धार्मिक–पर्यटकीय गन्तव्य बन्न सक्नेछ ।