सोमबार, ७ बैशाख २०८३
नुवाकोट । नुवाकोटको दुप्चेश्वर गाउँपालिका वडा नम्बर ६ स्थित दुप्चेश्वर महादेव मन्दिर परिसरमा हरेक वर्षझैँ यस वर्ष पनि धान्यपूर्णिमा अवसरमा भव्य मेला आयोजना गरिने भएको छ । धार्मिक, सांस्कृतिक तथा पर्यटकिय सम्भावनाले सम्पन्न दुप्चेश्वर महादेव मन्दिर परिसरमा यस वर्ष धान्यपूर्णिमाका अवसरमा भव्य मेला लाग्दैछ । दुप्चेश्वर क्षेत्र विकास कोषले सार्वजनिक गरेको सूचना अनुसार मेलालाई सफल, मर्यादित, भव्य र व्यवस्थित बनाउनका लागि आवश्यक पूर्वतयारी कार्य तीव्र रूपमा अघि बढाइएको छ।
धार्मिक तथा सांस्कृतिक धरोहर मानिने दुप्चेश्वर महादेव मन्दिर परिसरमा यस वर्ष धान्यपूर्णिमा मेला ५ दिनसम्म ( बिशेष मङ्सिर १७ गते ) चल्ने मेलालाई सफल बनाउन तयारी थालिएको छ । दुप्चेश्वर क्षेत्र विकास कोषले सम्पूर्ण पूर्वतयारी तथा व्यवस्थापन कार्य व्यवस्थित रूपमा अघि बढाएको छ। दुप्चेश्वर महादेव भगवान शिवको शक्तिपीठ, प्राकृतिक सौन्दर्य, धार्मिक उपस्थिति र पुरातात्त्विक महत्त्वले सम्पन्न स्थानका रूपमा परिचित छ। धान्यपूर्णिमामा आयोजित मेला आस्थाको पर्व मात्र नभई स्थानीय आर्थिक र सामाजिक गतिशीलताको केन्द्र बन्दै आएको छ ।
कोषले यस वर्ष मेलालाई विशेषरूपमा सुरक्षित, सभ्य, व्यवस्थित तथा जोखिममुक्त बनाउने रणनीति अघि सारेको छ । सम्भावित चुनौतीहरू पहिचान गर्दै भीड व्यवस्थापन, पार्किङ, यातायात, स्वास्थ्य सेवा, प्राथमिक उपचार, सरसफाइ, सूचना प्रवाह र प्रहरी समन्वयलाई ध्यानमा राखेर काम गरेको छ । त्यस्तै आर्थिक वर्ष २०७४ देखि २०८२ सम्म भएको विगत वर्षको सम्पूर्ण आय–व्यय सार्वजनिक रूपमा प्रस्तुत गर्ने तथा सुधार योजनासहित सुझाव संकलन गर्ने उद्देश्यले कोषले मंसिर ५ गते बिहान ११:०० बजे दुप्चेश्वर परिसरमा सर्वपक्षीय छलफल आयोजना गर्न लागेको छ ।
यो कदमले समुदाय–आधारित व्यवस्थापन, पारदर्शिता, जवाफदेहिता र विश्वास निर्माणको आधार बन्नेछ । यस कार्यले पारदर्शिता, विश्वसनीयता र दीर्घकालीन विकासलाई टेवा पुर्याउने देखिन्छ । यस बैठकमा सहभागीहरूबाट सुझाव, आलोचना तथा व्यवहारिक समाधान प्रस्ताव संकलन गरिने कोषले जनाएको छ । दुप्चेश्वर महादेव मेला धार्मिक आस्थाको विषय मात्रै नभई स्थानीय आर्थिक गतिविधि, सांस्कृतिक पहिचान, पर्यटन विकास र सामुदायिक एकताको केन्द्र बनेको छ। मेलाले स्थानीय उत्पादन, कृषि तथा घरेलु व्यवसायको बिषेश प्रचार र बजार विस्तारमा पनि महत्वपूर्ण भूमिका खेल्ने गरेको छ । अहिले दुप्चेश्वर मेला आन्तरिक पर्यटनको राष्ट्रियस्तरको आकर्षक गन्तव्य बन्न थालिसकेको छ ।