सोमबार, ७ बैशाख २०८३
सर्लाही, वैशाख ७ गते । सर्लाही र रौतहटको सीमा भएर बग्ने बागमती खोलाको मलाहटोल तथा हरैया घाटमा मनपरी रूपमा नदीजन्य पदार्थ (गिट्टी, बालुवा) उत्खनन भइरहेको पाइएको छ । अवैध तथा अन्धाधुन्ध उत्खनन भइरहेको गुनासो आएपछि आइतबार सर्लाहीका प्रतिनिधिसभा सदस्य नरेन्द्र साह कलवार, प्रमुख जिल्ला अधिकारी रामुराज कडरिया तथा सुरक्षा निकायका प्रमुखसहितको टोली अनुगमनमा पुगेको थियो । सो क्रममा सर्लाहीतर्फ बरहथवा नगरपालिका–१, हजरियास्थित सहनीटोल घाट र रौतहटको गढीमाई नगरपालिका तथा वृन्दावन नगरपालिका क्षेत्रअन्तर्गत पर्ने हरैया घाटमा अनियन्त्रित उत्खनन भइरहेको पाइएको हो ।
अनुगमन टोली पुग्नासाथ उत्खननमा संलग्न एक दर्जनभन्दा बढी टिपर र जेसिबी रौतहटतर्फ भागेको बताइएको छ । रौतहटको गढीमाई र वृन्दावन नगरपालिकाले सो क्षेत्रमा नदीजन्य पदार्थ उत्खननका लागि ठेक्का लगाएका छन् । सर्लाहीतर्फ बरहथवा नगरपालिकाले ठेक्का लगाउने प्रयास असफल भएपछि रौतहटतर्फबाट अनियन्त्रित रूपमा उत्खनन भइरहेको पाइएको छ । बागमती नदीको मलाहटोल र हरैया घाट क्षेत्रमा दुई जिल्लाका स्थानीय तहबिच सीमा विवादसमेत रहेको छ । सीमा विवादको फाइदा उठाउँदै रौतहटपट्टिबाट सर्लाहीतर्फ तटबन्धको नजिकै आएर अन्धाधुन्ध उत्खनन भइरहेको बरहथवा नगरपालिका–१, हजरियाका वडाध्यक्ष राकेश सहनीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “बारम्बार रोक्न आग्रह गर्दा पनि सुनुवाइ भएको छैन । रातको समयमा स्काभेटर ल्याएर उत्खनन हुन्छ, हामी निरीह भएर हेरेर बस्न बाध्य छौँ ।”
जथाभावी उत्खननका कारण बागमती खोलामा दर्जनौँ स्थानमा ठुला खाल्डा बनेका छन् । सर्लाहीका प्रमुख जिल्ला अधिकारी रामुराज कडरियाले अनुगमनका क्रममा मनपरी उत्खनन भएको पाइएको बताउनुभयो । उहाँले तत्कालै रौतहटका प्रमुख जिल्ला अधिकारीसँग टेलिफोन संवाद गरी आवश्यक पहल गरिएको जानकारी दिनुभयो ।उहाँले भन्नुभयो, “जहाँबाट ठेक्का लगाइएको भए पनि मापदण्डविपरीत उत्खनन गर्न पाइँदैन। तत्काल बैठक बसेर आवश्यक कदम चाल्छौँ ।”यता, रौतहटका प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले उक्त क्षेत्रमा सीमा विवाद समाधान र अनियन्त्रित उत्खनन रोक्न बुधबार दुवै जिल्लाका जनप्रतिनिधि, सुरक्षा अधिकारी तथा सरोकारवालासँग छलफल गरिने बताउनुभएको छ । उहाँका अनुसार सीमा विवादकै कारण दुवै पक्षले आ–आफ्नो क्षेत्र दाबी गर्दै आएका छन् ।
भुसालले दुई साताअघि पनि अनुगमन गरिएको र त्यसबेला अन्धाधुन्ध उत्खनन नदेखिएको बताउनुभयो । उहाँले आवश्यक परे प्रहरी परिचालन गरेर उत्खनन रोकिएको जानकारी दिनुभयो । बरहथवा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ऋद्धिप्रकाश सिटौलाले मलाहटोल घाटमा ठेक्का लगाउन नसकिएको बताउनुभयो । उहाँका अनुसार चालु वर्षमा सूचना निकालिए पनि ठेक्का लिन कोही पनि नआएको हो ।उहाँले बरहथवा नगरपालिकाले बागमती बजार घाट क्षेत्रमा मात्र ठेक्का लगाएको जानकारी दिनुभयो । अनुगमन टोली पुगेको सूचना पाएपछि उत्खननमा प्रयोग गरिएका तीन वटा स्काभेटर बजारघाट नजिकै मकैबारीमा लुकाइएको भेटिएको स्थानीयले बताएका छन् ।सम्बन्धित निकायबाट नियमित अनुगमन नहुँदा बागमती नदीका विभिन्न घाटबाट दैनिक रूपमा मनपरी उत्खनन भइरहेको स्थानीयको गुनासो छ । जथाभावी उत्खननले नदीको बाँध, खेत र बस्ती जोखिममा परेको उनीहरूको भनाइ छ । आजको गोरखापत्र दैनिकमा समाचार छ।