शुक्रबार, ४ ब‌ैशाख २०८३

images

शुक्रबार, ४ ब‌ैशाख २०८३

शुक्रबार, ४ ब‌ैशाख २०८३

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×
images

‘फेक रेस्क्यु’का मास्टरमाइन्ड सिंहमाथि फेरि अनुसन्धान हुने

पदयात्रामा जाने पर्यटकको उद्धारका नाममा भएको बिमा ठगीका ‘मास्टरमाइन्ड’ मानिएका राजेन्द्रबहादुर सिंहमाथि पुनः छानबिन हुने भएको छ । महान्यायाधिवक्ता कार्यालयले उनीमाथि थप छानबिन गर्न जिल्ला सरकारी वकिल कार्यालय र प्रहरीलाई निर्देशन दिएको हो । यसअघि चलखेलको आधारमा सिंहविरुद्ध मुद्दा नचलाउने निर्णय भएको थियो । मुख्य व्यक्तिलाई नै मुद्दा नचलेपछि अभियोजन फितलो बन्न पुगेको थियो । सो मुद्दामा पक्राउ परेका सबै धरौटीमा छुटिसकेका छन् । 

महान्यायाधिवक्ता डा. नारायणदत्त कँडेलले सिंहको हकमा थप अनुसन्धान गरी मुद्दा प्रक्रिया अघि बढाउन निर्देशन दिएको स्रोत बताउँछ । ‘महान्यायाधिवक्ताज्यूबाट थप अनुसन्धान गर्न निर्देशन भएको छ,’ जिल्ला सरकारी वकिल कार्यालयका एक अधिकारीले भने, ‘सोहीअनुसार सिआइबीसँग थप प्रमाण जुटाउन सहकार्य भइरहेको छ ।’ सिआइबीले सिंहलाई पनि पक्राउ गरेरै मुद्दा चलाउनुपर्ने रायसहितको अनुसन्धान प्रतिवेदन पठाएको थियो । एक साता फाइल रोकेपछि सरकारी वकिल कार्यालयले सिफारिस भएका ३३ मध्ये सिंहबाहेक अन्य ३२ जनालाई मात्र मुद्दा चलाउने निर्णय गरेको थियो । त्यतिवेला सरकारी वकिल कार्यालयको प्रमुखमा रामहरि शर्मा काफ्ले थिए । सोही प्रकरणमा उनलाई जिम्मेवारीबाट हटाइएको महान्यायाधिवक्ता स्रोत बताउँछ । आरोपीलाई जोगाउन भूमिका खेलेको आरोपमा काफ्लेलगायत केही कर्मचारीमाथि छानबिनसमेत भइरहेको छ । 

विगतमा विभिन्न हेलिकोप्टर कम्पनीको व्यवस्थापनमा काम गरेका सिंह पहुँचकै आधारमा गत वर्ष सरकारले गठन गरेको नागरिक उड्डयन क्षेत्र सुधार कार्यदलको सदस्य बनेका थिए । नेपाल वायुसेवा सञ्चालक संघका पूर्वउपाध्यक्षसमेत रहेका सिंह प्रक्रिया पुर्‍याएर फेक रेस्क्युबाट बिमा रकम असुल्नेदेखि प्रमाण लुकाउनेसम्मको गतिविधिमा संलग्न रहेको सिआइबीको अनुसन्धानमा देखिएको थियो । सो प्रकरणमा फरार एयर डाइनेस्टीका मालिक श्यामसुन्दर कँडेलसँगको अडियो संवाद पनि सिआइबीले फेला पारेको थियो । जसमा अबदेखि रेस्क्यु नभनी चार्टर्ड फ्लाइट भन्ने र रेस्क्यु फ्लाइटको विवरण नै नागरिक उड्डयनबाट हटाउने लबिङ गरेको प्रस्ट हुन्छ । लुक्लामा सरकारी स्वास्थ्यकर्मीलाई नै राखेर प्रतिव्यक्ति पाँच सय रुपैयाँ घुस खुवाएर सामान्य बिरामीलाई पनि काठमाडौंका अस्पतालमा रेफर गर्न लगाउने उनको योजना अडियोमा सुनिन्छ । एक व्यक्तिसँग त उनले ‘में नेपालमें फेक रेस्क्युका डन हें’ भनेर गरेको अडियो संवादसमेत सिआइबीले फेला पारेको छ । 

सो मुद्दामा पक्राउ परेका अन्य १० पनि धरौटीमा छुटिसकेका छन् । आरोपीहरू मुक्ति पाण्डे, जयराम रिमाल, सुवास केसी र रवीन्द्र अधिकारी ३०–३० लाख, गीवार्णराज तिमिल्सिना, विवेक पाण्डे, खेमराज अधिकारी, पासाङ शेर्पा र सन्दीप अधिकारी पाँच–पाँच लाख तथा विवेकराज थपलिया एक लाख धरौटीमा छुटिसकेका छन् । एक अर्ब ५१ करोडको बिगो कायम भए पनि सरकारी वकिल कार्यालयबाट प्रहरीले संकलन गरेका कतिपय प्रमाण नै हटाएर अभियोग दर्ता गरिएको आरोप लागेको छ । आरोपीहरूले उद्धार गरिएको भनी बिमा भुक्तानी लिने क्रममा तयार गरेका प्यासेन्जर कार्गो मेनिफेस्ट तथा बिलको छुट्टाछुट्टै व्याख्या गरी राखिएकोमा सबै व्याख्या हटाएर पर्यटकको विवरण मात्र समावेश गरिएको छ ।

हरेक प्रतिवादीको ‘किकब्याक स्किम’ प्राप्त गरेको रकमको बैंक स्टेटमेन्टसमेत अनुसन्धान प्रतिवेदनमा राखिएकोमा त्यो पनि सरकारी वकिलले हटाएका थिए । चेकको फोटो, प्यासेन्जर मेनिफेस्ट र लोड सिट किर्ते बनाई राखिएको बिलको फोटो, मोबाइलको फरेन्सिकबाट खुलेका प्रमाणहरूसमेत अभियोगबाट हटाइएकाले मुद्दा कमजोर बन्न पुगेको हो । फरार भएका एयर डाइनेस्टीका सञ्चालक श्यामसुन्दर कँडेल र राजेन्द्रबहादुर सिंहबिचको मुद्दालाई प्रभावित पार्ने योजनासहित भएको कुराकानीको अडियो पनि मिसिलबाट सरकारी वकिल कार्यालयले हटाएको थियो । सिआइबीले फेक रेस्क्युमा संलग्नविरुद्ध सम्पत्ति शुद्धीकरणको कसुरमा पनि अनुसन्धान थालेको थियो । तर, अनुसन्धानको गति भने सुस्त छ । फेक रेस्क्युकै लागि खोलिएका अस्पताल पनि यथास्थितिमा सञ्चालन भइरहेका छन् । सबै आरोपी सहजै छुटेपछि फेरि यो धन्दा चल्न सक्ने अनुसन्धानमा आबद्ध अधिकारीको चिन्ता छ । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ।