शनिवार, ३० जेठ २०८३
काठमाडौं । नेपालका ठूला निजी क्षेत्रका औद्योगिक प्रतिष्ठानमध्ये एक सूर्य नेपाल प्रालिले चुरोट, बिस्कुट, अगरबत्ती, कन्फेक्सनरी तथा कृषि क्षेत्रमा आधारित कच्चा पदार्थ विकाससम्म आफ्नो व्यवसाय विस्तार गर्दै आएको छ। सन् १९८६ मा स्थापना भएको कम्पनी आज नेपालका अग्रणी उपभोक्ता वस्तु उत्पादक कम्पनीहरूमध्ये एकका रूपमा स्थापित भएको छ।
चुरोट व्यवसाय मुख्य आधार
सूर्य नेपालको सबैभन्दा पुरानो र ठूलो व्यवसाय चुरोट उत्पादन हो। कम्पनीले २५ वर्षभन्दा बढी समयदेखि चुरोट उत्पादन गर्दै आएको छ। सूर्य लेजेन्ड, सूर्य २४ क्यारेट, सूर्य लक्जरी किङ्स, शिखर फिल्टर किङ्स, खुकुरी फिल्टर, पाइलट फिल्टर, बिजुली तथा चौतारी लगायतका ब्राण्ड बजारमा उपलब्ध छन्। कम्पनीले देशभर ५ हजारभन्दा बढी थोक विक्रेता र एक लाखभन्दा बढी खुद्रा विक्रेतामार्फत आफ्ना उत्पादन वितरण गर्दै आएको जनाएको छ।
कृषि तथा लिफ टोबाको विकास
चुरोट उद्योगसँगै सूर्य नेपालले सुर्तीखेती गर्ने किसानसँग प्रत्यक्ष सहकार्य गर्दै आएको छ। कम्पनीले बिरुवा उत्पादन, आधुनिक खेती प्रविधि, प्राविधिक सहयोग तथा सुर्ती सुकाउने संरचना निर्माणमा सहयोग गर्दै आएको जनाएको छ। यस कार्यक्रमबाट विभिन्न जिल्लाका किसान लाभान्वित भएका छन्।
बिस्कुट व्यवसायमा विस्तार
सूर्य नेपालले पछिल्ला वर्षहरूमा बिस्कुट उद्योगमा समेत आफ्नो उपस्थिति बलियो बनाएको छ। कम्पनीको उत्पादन सूचीमा विभिन्न प्रकारका बिस्कुट र वेफर रोल रहेका छन्। उपभोक्ताको बदलिँदो रुचिअनुसार नयाँ उत्पादन सार्वजनिक गर्दै कम्पनीले खाद्य क्षेत्रमा आफ्नो बजार विस्तार गरिरहेको छ।
अगरबत्ती व्यवसायमा बढ्दो उपस्थिति
कम्पनीले अगरबत्ती क्षेत्रमा पनि महत्वपूर्ण लगानी गरेको छ। ‘मंगलदीप’ ब्राण्डअन्तर्गत विभिन्न सुगन्ध र मूल्य वर्गका अगरबत्ती उत्पादन तथा बिक्री वितरण गर्दै आएको छ। भारतको आईटीसी समूहको प्राविधिक अनुभव र सूर्य नेपालको वितरण सञ्जालको संयोजनले यो व्यवसायलाई बजारमा स्थापित बनाउन सहयोग पुगेको कम्पनीले जनाएको छ। साथै बारा जिल्लाको नितनपुरमा अगरबत्ती उत्पादन केन्द्र सञ्चालनमा रहेको छ।
कन्फेक्सनरी व्यवसाय
सूर्य नेपालले कन्फेक्सनरी अर्थात् टफी, क्यान्डी तथा मिठाईजन्य उत्पादनको क्षेत्रमा पनि व्यवसाय विस्तार गरेको छ। कम्पनीले विभिन्न ब्राण्डमार्फत नेपाली बजारमा आफ्ना उत्पादन उपलब्ध गराउँदै आएको छ। उपभोक्ता वस्तुको बढ्दो मागलाई लक्षित गर्दै यो क्षेत्रलाई भविष्यको सम्भावनायुक्त व्यवसायका रूपमा अघि बढाइएको कम्पनीको भनाइ छ।
नेपालको अर्थतन्त्रमा योगदान
सूर्य नेपाल नेपालकै ठूलो निजी क्षेत्रको कम्पनीमध्ये एक मानिन्छ। कम्पनीले प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा हजारौंलाई रोजगारी उपलब्ध गराउनुका साथै उद्योग, कृषि, वितरण प्रणाली तथा राजस्व संकलनमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको छ। कम्पनीले गुणस्तरीय उत्पादन, दिगो विकास र सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर व्यवसाय सञ्चालन गरिरहेको जनाएको छ।
नेपालको उपभोक्ता वस्तु उद्योगमा चुरोट उत्पादनबाट पहिचान बनाएको सूर्य नेपाल आज बिस्कुट, अगरबत्ती, कन्फेक्सनरी तथा कृषि क्षेत्रसम्म फैलिएको बहुआयामिक औद्योगिक समूहका रूपमा विकसित भएको छ। कम्पनीले परम्परागत व्यवसायसँगै नयाँ क्षेत्रमा लगानी विस्तार गर्दै आफ्नो बजार उपस्थितिलाई अझ सुदृढ बनाउने रणनीति अघि बढाएको छ।