शनिवार, ३० जेठ २०८३
नुवाकोट । प्राकृतिक सौन्दर्य, शान्त वातावरण र मनोरम दृश्यावलोकनका कारण नुवाकोटको पञ्चकन्या गाउँपालिका–४ स्थित घ्याङ्स्वारा पछिल्लो समय आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको छ । समुद्री सतहबाट करिब २,२०० मिटरको उचाइमा रहेको यस क्षेत्रबाट देखिने मनोरम हिमश्रृंखला, हरियाली पहाड, सूर्योदय–सूर्यास्तको अनुपम दृश्य र शान्त वातावरणले घ्याङ्स्वारालाई नयाँ पर्यटकीय गन्तव्यको रूपमा स्थापित गरिरहेको छ। समुद्री सतहबाट उच्च स्थानमा अवस्थित यस क्षेत्रबाट हिमश्रृंखला, हरियाली पहाड र आसपासका रमणीय बस्तीको दृश्य अवलोकन गर्न सकिने भएकाले घ्याङ्स्वारा पर्यटनको नयाँ गन्तव्यका रूपमा परिचित बन्दै गएको हो ।
काठमाडौंबाट करिब ३६ किलोमिटरको दूरीमा रहेको घ्याङ्स्वारा नुवाकोट जिल्लाको मध्यभागमा पर्दछ । सहज पहुँच र प्राकृतिक सौन्दर्यका कारण विशेषगरी हिउँदयाम तथा सार्वजनिक बिदाका दिन यहाँ पर्यटकको चहलपहल उल्लेख्य रूपमा बढ्ने गरेको छ। दैनिक सयौंको संख्यामा घुम्न, बनभोज गर्न तथा विभिन्न सामाजिक तथा औपचारिक कार्यक्रमका लागि आगन्तुक पुग्ने गरेका छन्। विशेषगरी सूर्योदय र सूर्यास्तको मनमोहक दृश्य, चिसो हावापानी तथा प्राकृतिक वातावरणले घ्याङ्स्वारालाई घुमफिरका लागि उपयुक्त स्थान बनाएको छ।
बिदाका दिन तथा विशेष अवसरमा काठमाडौं उपत्यकासहित नुवाकोट र आसपासका जिल्लाबाट समेत पर्यटक यहाँ पुग्ने गरेका छन्। प्राकृतिक सुन्दरता, धार्मिक महत्व, विकसित हुँदै गएका पूर्वाधार र स्थानीय समुदायको सक्रियताले घ्याङ्स्वारालाई नुवाकोटको मात्र होइन, बागमती प्रदेशकै उदीयमान पर्यटकीय गन्तव्यका रूपमा स्थापित गरिरहेको छ । घ्याङ्स्वाराले ग्रामीण पर्यटन प्रवर्द्धनसँगै स्थानीय अर्थतन्त्रलाई समेत महत्वपूर्ण योगदान गरिरहेको छ। यहाँ आउने आगन्तुकले स्थानीय उत्पादन तथा परिकारको स्वाद लिनुका साथै ग्रामीण पर्यटनको अनुभव समेत गर्न सक्छन्।
घ्याङ्स्वारामा पछिल्ला वर्षहरूमा पर्यटकीय पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखिएको छ भने पञ्चकन्या गाउँपालिका र प्रधानमन्त्री रोजगार कार्यक्रमको सहकार्यमा यहाँ शहिद पार्क, पर्यटकीय पार्क, खेल मैदान, पिकनिक स्थल, पर्यटक आवास तथा होमस्टे निर्माण गरिएको छ। यस क्षेत्रलाई थप व्यवस्थित बनाउन खानेपानी सुविधा, विश्रामस्थल र अन्य संरचनाहरू पनि निर्माण गरिएका छन्। घ्याङ्स्वाराको अर्को विशेषता भनेको धार्मिक पर्यटनसँगको सम्बन्ध हो। यहाँ रहेको भूमेस्थान सिद्धिगणेश मन्दिरसम्म पुग्न सिँढीसहितको पदमार्ग निर्माण गरिएको छ । धार्मिक आस्था र प्राकृतिक सौन्दर्यको संयोजनले यस क्षेत्रलाई परिवारसहित घुम्न आउने पर्यटकको लागि आकर्षक रोजाइ बनेको छ । घ्याङ्स्वारामा चियाखेती कार्यक्रमसमेत सुरु गरिएको छ । यसले पर्यटन र कृषि दुवै क्षेत्रमार्फत स्थानीय रोजगारी तथा आयआर्जन बढाउन सहयोग गरेको छ।