बुधबार, ३ असार २०८३
काठमाडौं । एनसेलका लगानीकर्ताले नेपालमा आर्जन गरेको नाफा गैरकानुनीरूपमा हुन्डी र क्रिप्टोकरेन्सीमार्फत विदेश लाने योजना बनाएको रहस्य खुलेको छ । सन् २०२३ देखि नै एनसेलका लगानीकर्ताले अवैधरुपमा आर्जन गरेको रकमलाई विदेश लैजान क्रिप्टोकरेन्सी, हुन्डीजस्ता अवैध माध्यमको प्रयोग गरेको आशंका गर्दै एउटा अध्ययन प्रतिवेदनले गम्भीर अनुसन्धान गर्न सिफारिस समेत गरेको छ । तर सिफारिसअनुसार सरकारले हालसम्म यस विषयमा कुनै अध्ययन र अनुसन्धान भने थालेको छैन ।
नेपालमा हुन्डी र क्रिप्टोकरेन्सीमार्फत रकम कारोबार र ट्रान्सफर गरेको अभियोगमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले जिल्ला अदालतमा थुप्रै मुद्दा दर्ता गरेको छ । तर सरकारले नै गठन गरेको अधिकारसम्पन्न र प्राविधिक जनशक्ति सम्मिलित समूहले गरेको अध्ययनले क्रिप्टोकरेन्सी कारोबार गरेको आशंकामा छानबिन गर्न भने पनि सरकार हालसम्म एनसेलको यो कार्यप्रति मौन छ ।
पूर्वमहालेखापरीक्षक टंकमणि शर्मा दंगालको संयोजकत्वमा गठित ६ सदस्यीय समितिले सरकारलाई बुझाएको प्रतिवेदनमा एनसेल खरिद बिक्रीको ‘असफल प्रयास’मा न्यून बिजकीकरण गरेर हुन्डी र क्रिप्टोकरेन्सी माध्यमको प्रयोग भएका आशंका गर्दै विस्तृत अनुसन्धान गर्न सरकारलाई सिफारिस गरेको छ ।‘एनसेलको खरिद बिक्रीमा न्यून बिजकीकरण गरिनुमा माथि उल्लिखित कारण हुन सक्छन् । क्रेता र बिक्रेता दुई पक्ष मिली एक सम्झौता गरेर सरकारी निकायहरूमा पेस गरी अभिलेखीकरण गरेपछि अवैध आम्दानी वैधानिकतातर्फ प्रवेश गराउने प्रयास हुन सक्छ ।
यस खरिद बिक्रीमा या त खरिदकर्ता आफैले अवैध तरिकाले आर्जन गरेको रकम बिक्रेतालाई पूरै तिरेता पनि आफ्नो आयको स्रोतअनुसारको रकमको मात्र सम्झौता गरेको हुन सक्छ या त कुनै लगानीकर्ताको अवैध तरिकाको आर्जनको स्रोत अप्रत्यक्षरूपमा प्रयोग भएको हुन सक्छ । यो गम्भीर विषय छ । यो मुलुकको अर्थतन्त्रको लागि विस्तृत अनुसन्धानको विषय छ,’ शर्माको प्रतिवेदनमा भनिएको छ । आजको राजधानी दैनिकमा समाचार छ।