शनिवार, ३० जेठ २०८३

images

शनिवार, ३० जेठ २०८३

शनिवार, ३० जेठ २०८३

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×
images

लुम्बिनीमा सत्ता अस्थिरता : साढे तीन वर्षमा चार मुख्यमन्त्रीसहित ५० मन्त्री

लुम्बिनी प्रदेश सभाको साढे तीन वर्षको अवधिमा चार मुख्यमन्त्रीसहित ५० जनाले मन्त्री बन्ने अवसर पाए । मुख्यमन्त्री चेतनारायण आचार्यले गएको सोमबार मात्रै एमाले र जसपाका पाँच मन्त्री फेरबदल गरेका छन् भने १ असारमा प्रदेशको बजेट आएपछि कांग्रेसका मन्त्री पनि फेरेर अरूलाई ‘पालो दिने’ तयारी छ । पटक–पटक मन्त्रिपरिषद् विस्तार र पुनर्गठन हुँदा केही सांसद चारपटकसम्म मन्त्री बनेका छन् भने केहीले दोस्रो र तेस्रोपटक अवसर पाएका छन् ।

०७९ पुसयता मात्र चारपटक सरकार हेरफेर भएको लुम्बिनी प्रदेशमा ८७ सदस्यीय प्रदेश सभामध्ये ३६ सांसदले कुनै न कुनै रूपमा सरकारमा सहभागी हुने अवसर पाइसकेका छन् । हालसम्म एमाले, कांग्रेस, माओवादी, जसपा, जनमत, राप्रपा, लोसपा, नाउपा, एकीकृत समाजवादी र स्वतन्त्र सांसदसम्म मन्त्री पदको ‘रोटेसन’मा सहभागी भएका छन् । पछिल्लो चरणमा मात्रै एमाले र जसपाबाट पाँचजना मन्त्री फेरबदल भएका छन् । एमालेका रामजीप्रसाद घिमिरे, तुलसीप्रसाद चौधरी, डिल्लीराज भुसाल नयाँ अनुहारका रूपमा मन्त्री बनेका छन् भने एमालेकै रत्नबहादुर खत्री दोस्रोपटक मन्त्री बनेका छन् । 

जसपाका भण्डारीलाल अहिर चौथोपटक मन्त्री बनेका हुन् । पाँचजनाले सोमबार शपथ खाएका छन् । बजेटपछि फेरि मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारी छ । कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनका अनुसार बजेटपछि कांग्रेसका तर्फबाट मन्त्री बनेकाहरू पनि फेरबदल हुने बताए । प्रदेश सरकारको बजेट १ असारमा संसद्मा पेस गर्नुपर्छ । कांग्रेसले यसअघि सत्ताको नेतृत्व नै हेरफेर हुनुपर्ने माग राख्दै आएको थियो । तर, प्रदेश सभापति पुनले सातवटै प्रदेशमा प्याकेजमै सहमति खोज्ने सहमति भएको बताए । ‘पूर्वसहमतिअनुसार कांग्रेसको नेतृत्वमा सरकार गठन हुनुपर्ने हो । 

तर, सातवटै प्रदेशमा प्याकेजमै सहमति खोज्ने कुरा भएकाले अहिले रोकिएको छ,’ उनले भने, ‘सातवटै प्रदेशबारे गठबन्धनका दलहरूबिच केन्द्रमा जे सहमति हुन्छ त्यहीअनुसार लुम्बिनी प्रदेशमा हुन्छ ।’ पूर्वमन्त्रीसमेत रहेका एमाले नेता भूमिश्वर ढकालले एमाले र कांग्रेसबिचको पूर्वसहमतिअनुसार नै मन्त्रिमण्डल हेरफेर गरिएको बताए । ‘वैशाखमै मन्त्रिमण्डल परिवर्तन गर्ने भन्ने थियो । हामीले हेरफेर गरेका छौँ,’ उनले भने, ‘कांग्रेसले सरकारको नेतृत्वसहित नै मन्त्रिमण्डल पुनर्गठन गर्नुपर्ने भन्ने कुरा अगाडि सार्‍यो । त्यही भएर कांग्रेसका मन्त्रीहरू हेरफेर भएको छैन । 

अब बजेटपछि दुवै दलबिच छलफल गरेर एउटा टुंगोमा पुगिन्छ । दुवै दलको केन्द्रले सातवटै प्रदेशबारे सहमति गर्दा जे निर्णय हुन्छ, यहाँ पनि त्यही हुन्छ ।’साढे तीन वर्षमा एमालेका लीला गिरी, कांग्रेसका डिल्लीबहादुर चौधरी, माओवादीका जोखबहादुर महरा मुख्यमन्त्री भइसकेका छन् । एमालेका चेतनारायण आचार्य ७ साउन ०८१ देखि मुख्यमन्त्रीको कुर्सीमा छन् । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ।