बुधबार, ३ असार २०८३

images

बुधबार, ३ असार २०८३

बुधबार, ३ असार २०८३

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×
images

नाइमा अटो शो २०२६ : साउन २६ देखि ३१ गतेसम्म हुने

काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (NAIMA) ले ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ आगामी साउन २६ देखि ३१ गतेसम्म (अगस्ट ११–१६, २०२६) काठमाडौंको भृकुटीमण्डपमा आयोजना गर्ने भएको छ। नेपालको सबैभन्दा ठूलो र आधुनिक मोबिलिटी प्रदर्शनीका रूपमा यसलाई नाइमाले प्रस्तुत गरेको छ। गत वर्षको सफल आयोजनापछि दोस्रो संस्करणका रूपमा आउन लागेको यो एक्स्पोले नेपालमा तीव्र गतिमा विस्तार भइरहेको विद्युतीय सवारीसाधन, हरित प्रविधि तथा स्मार्ट यातायात समाधानलाई एउटै थलोमा प्रस्तुत गर्ने अपेक्षा गरिएको छ। 

प्रदर्शनीमा विश्वका चर्चित अटोमोबाइल ब्रान्ड, विद्युतीय दुईपाङ्ग्रे तथा चारपाङ्ग्रे सवारी, व्यावसायिक गाडी, चार्जिङ प्रविधि र मोबिलिटीसम्बन्धी नवीनतम प्रविधिहरु प्रदर्शन गरिनेछन्।नेपालमा पछिल्ला केही वर्षयता विद्युतीय सवारीसाधनप्रति उपभोक्ताको आकर्षण उल्लेखनीय रूपमा बढेको अबस्थामा  पेट्रोलियम पदार्थको बढ्दो मूल्य, वातावरणीय सचेतना तथा सरकारी नीतिका कारण ईभी बजार तीव्र गतिमा विस्तार भइरहेको छ । एक्स्पो २०२६ अटो उद्योगको वर्तमान अवस्था मात्र होइन, भविष्यको दिशासमेत देखाउने महत्वपूर्ण मञ्च बन्ने विश्वास गरिएको छ।प्रदर्शनीमा विभिन्न अन्तर्राष्ट्रिय तथा नेपाली कम्पनीहरूले आफ्ना नवीनतम मोडल सार्वजनिक गर्ने, नयाँ प्रविधि प्रदर्शन गर्ने तथा उपभोक्तालाई विशेष अफर उपलब्ध गराउने छन्। 

अटो उद्योगसँग सम्बन्धित नीति, पूर्वाधार, चार्जिङ नेटवर्क र दिगो यातायातबारे विशेष छलफल कार्यक्रमसमेत आयोजना गरिने छ।नाइमा मोबिलिटी एक्स्पो केवल सवारीसाधन प्रदर्शन गर्ने थलो मात्र नभएर यो अटो व्यवसायी, उत्पादक, आयातकर्ता, वित्तीय संस्था, बीमा कम्पनी तथा उपभोक्ताबीच प्रत्यक्ष संवाद गराउने साझा प्लेटफर्म पनि हो। नयाँ गाडी खरिद गर्न चाहने ग्राहकहरूले एउटै स्थानमा विभिन्न ब्रान्ड तुलना गर्न, टेस्ट ड्राइभ गर्न र विशेष छुट प्राप्त गर्न सक्नेछन्।गत बर्षको संस्करणमा विभिन्न कम्पनीहरूले नगद छुट, निःशुल्क बीमा, एक्सचेन्ज बोनस तथा आकर्षक उपहार योजनामार्फत हजारौँ ग्राहक आकर्षित गरेका थिए। यस वर्ष पनि यस्ता अफरहरू अझ प्रतिस्पर्धात्मक हुने अनुमान गरिएको छ। 

त्यस्तै नेपालले विद्युतीय सवारी प्रयोगमा दक्षिण एशियामै उल्लेखनीय प्रगति गरिरहेको सन्दर्भमा नाइमा मोबिलिटी एक्स्पो २०२६ लाई हरित यातायात अभियानको महत्वपूर्ण उत्सवका रूपमा हेरिएको छ। यसले उपभोक्तालाई आधुनिक प्रविधिबारे जानकारी दिनुका साथै दिगो विकास र स्वच्छ वातावरणतर्फ समाजलाई प्रेरित गर्ने अपेक्षा गरिएको छ।साउन २६ देखि ३१ गतेसम्म भृकुटीमण्डपमा आयोजना हुने यो प्रदर्शनी अटोमोबाइल प्रेमी, व्यवसायी, लगानीकर्ता तथा नयाँ प्रविधिमा रुचि राख्ने सबैका लागि विशेष आकर्षण बन्ने देखिन्छ। सन् २०२५ को एक्स्पोमा ५० भन्दा बढी ब्रान्ड सहभागी भएका थिए। तीमध्ये अधिकांश ब्रान्ड २०२६ मा पनि सहभागी हुने अपेक्षा गरिएको छ। गत वर्षको एक्स्पोमा ९१ हजारभन्दा बढी दर्शकले अवलोकन गरेका थिए। प्रदर्शनीमा ३५ भन्दा बढी नयाँ मोडल सार्वजनिक गरिएका थिए। यसपटक त्यो संख्या अझ बढ्न सक्ने अनुमान गरिएको छ। 

यो एस्पो केवल गाडी प्रदर्शनी मात्र नभएर  नेपालको यातायात क्षेत्र कुन दिशातर्फ अघि बढ्दैछ भन्ने संकेत दिने मञ्च पनि हुनेछ। नयाँ मोडल, आकर्षक अफर र भविष्यको मोबिलिटी प्रविधि हेर्न चाहनेहरूका लागि यो वर्षको सबैभन्दा प्रतीक्षित अटो इभेन्ट बन्ने देखिएको छ।हाल नेपालमा चिनियाँ EV ब्रान्डहरूको प्रभाव बढिरहेको छ। यसपटकको एक्स्पोमा नयाँ प्रविधियुक्त SUV, साना शहरी EV, व्यावसायिक विद्युतीय सवारी र उन्नत ब्याट्री प्रविधिले चर्चा बटुल्न सक्छन्। नेपालमा मोबिलिटीको भविष्य कता जाँदैछ भन्ने प्रश्नको उत्तर खोज्न चाहनेहरूका लागि नाइमा मोबिलिटी एक्स्पो २०२६ एउटा महत्वपूर्ण गन्तव्य बन्नेछ।